




सुनसरी – सुनसरीको इटहरी उपमहानरपालिका ६ स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आगलागीमा फसेका आठजना पुरुष र तीन महिलाको उद्धार गरिएको हो ।

उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन । “अहिलेसम्म ११ जनाको सकुशल उद्धार गरेका छौँ । आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छैन । अझै अन्य मानिस फसेका छन् कि भनेर खोजी भइरहेको छ,” प्रजिअ मिश्रले भने । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पनि पुगेको प्रजिअ मिश्रले बताए । सशस्त्र प्रहरीको नम्बर १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको नेतृत्वमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।