




“कमाएको सबै पैसा कहाँ बाँकी रहन्छ र?” डिल्लीराम भन्छन्, “जग्गा जोड्दा, घर बनाउँदा, बिहे गर्दा र बच्चाको पढाइमा सकियो। अब फेरि त्यही कष्ट गर्न मन लागेन।”


गाउँमा केही गर्ने हुटहुटी थियो तर लगानी थिएन। यत्ति बेला नगरपालिकाको “रेमी कार्यक्रम” उनको लागि आशा किरण बनेर आयो। सात दिनको उद्यमशीलता तालिमपछि उनले स्थानीय जातका कुखुरा पालनका लागि ४० हजार रुपैयाँको अनुदान पाए। डेढ लाख रुपैयाँ आफ्नै लगानी थपेर ६०० चल्लासहितको व्यवस्थित खोर बनाए — र सुरु भयो नयाँ अध्याय।

अब उनी हरेक दिन बिहान उठ्छन्, कुखुरालाई दाना हाल्छन् र सन्तोषको सास फेर्छन्। मनग्गे आम्दानीले उनी भन्छन्, “अब विदेश जान्न, गाउँमै रमाउँछु।”


डिल्लीराम मात्र होइन, इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी र विराज तामाङ जस्ता युवाहरू पनि यो कार्यक्रममार्फत स्वरोजगार बनेका छन्।
सपना सुवेदीको कथा झनै प्रेरणादायी छ। साढे तीन वर्ष साउदी अरबमा बिताएकी उनले भोगेको दुख सम्झँदा अझै पनि गहना भारी हुन्छ। गाउँ फर्किएपछि उनले चियाखेतीसँगै बाख्रा र कुखुरापालन थालेकी छन्। नगरपालिकाबाट एक लाख रुपैयाँ अनुदान पाएपछि उनी भन्छिन्, “अब त केही गर्ने हो भने गाउँमै गर्छु। रेमी कार्यक्रमले बिना ब्याज पैसा उपलब्ध गराएपछि सहज भयो।”
नगरप्रमुख रणबहादुर राईका अनुसार स्वरोजगार कार्यविधि अन्तर्गत व्यक्तिगत रूपमा एक लाख र समूह वा सहकारीमा आबद्ध भई पाँचदेखि दश लाखसम्मको बिना ब्याज ऋणको व्यवस्था गरिएको छ। तीन वर्षभित्र साँवा मात्र तिर्ने सुविधा छ, ब्याज तिर्नु पर्दैन।
यो कार्यक्रमले गाउँमै बस्ने रहर बोकेका युवाहरूका लागि मार्ग प्रशस्त गरेको छ। विदेशबाट फर्केर देशमै केही गर्ने सोच भएका लागि सूर्योदय नगरपालिकाको यो पहल उदाहरणीय बनेको छ।




































