Aamsanchar

टाउको अस्वभाविक रुपमा बढेपछि आठ बर्षदेखि ओछ्यानमा

Author Image
बिहिवार, जेठ २५, २०७४

झापा।

झापाको कमल गाउँपालिका–३ स्थित केराधापकी पिङ्गला पौडेल अहिले १० बर्षकी भइन् । तर, उनी अहिलेसम्म हलचल गर्न सक्दिनन् ।
सानैदेखि टाउको अस्वभाविक रुपमा बढेपछि उनी हलचल गर्न नसक्ने भएकी हुन् । जसका कारण उनी लामो समयदेखि ओछ्यान परेकी छिन् । टाउको अस्वभाविक रुपमा बढेपछि उनको जीवन कष्टकर भएको छ ।
१० वर्षअघि पाँचथरको पञ्चमी–३ डाँडेमा सामान्य अवस्थामा जन्मिएकी पिङ्गलाको चार महिना पुगेपछि टाउको क्रमशः बढ्दै गएको आमा बसुन्धराले बताइन् । उनले भनिन्– ‘मेरा ६ जना सन्तान छन्, यो कान्छी छोरी हो, जन्मिँदा त ठीकै थिई, चार महिनाकी भएपछि आफैं यस्तो भयो ।

पहिला अलि–अलि टाउको सुनिएको जस्तो भयो, पछि त झन् टाउको बढ्दै गयो ।’ ३–४ वर्षअघि एकपटक उपचारका लागि धरानस्थित वीपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगे पनि बिरामको अत्तो–पत्तो नलागेको उनले बताइन् ।
यता उनका दाजु लक्ष्मीले आर्थिक अवस्थाका कारण वहिनीको चाहेर पनि उपचार गर्न नसकिएको बताए । उनले सहयोग गर्न चाहे कोही कसैले आफ्नो मोबाइल नम्बर ९८१७९७७०९९मा सम्पर्क गरी वहिनीको जीवन बचाइदिन आग्रह गरेका छन् ।
लक्ष्मी भन्छन्– ‘सानो ठाउँमा उपचार गरे पनि लाग्दैन, ठूलो ठाउँमा लान हाम्रो हैसियत छैन ।’ खेतीको आम्दानी ठूलो परिवारमा दैनिकी चलाउँदै ठिक्क हुने उनी बताउँछन् ।

Views: 159

प्रतिक्रिया (०)