Aamsanchar

बिर्तामोडमा वर्ल्डलिंकको ‘बिट द स्पीड’ अभियान आइतबार

अनपोलिस्ड तीव्र गतिका बलरको खोजी सुरु

Author Image
शनिवार, वैशाख २७, २०८२

बिर्तामोड, वैशाख २५ — नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले देशभरका अनपोलिस्ड र तीव्र गतिका बलिङ प्रतिभा पहिचान गर्ने उद्देश्यले सुरु गरेको ‘बिट द स्पीड’ सिजन २ अन्तर्गतको कार्यक्रम बिर्तामोडमा आइतबार (वैशाख २८ गते) हुने भएको छ।

वर्ल्डलिंक बिर्तामोड शाखा प्रमुख प्रेम घिमिरेका अनुसार उक्त छनोट कार्यक्रम दिउँसो ४ बजे बिर्तामोड–५ स्थित सुन्दरनगर टोलको बिर्तामोड स्पोर्ट्स सेन्टरमा आयोजना हुनेछ। सहभागीता निःशुल्क रहेको र १६ वर्षमाथिका जुनसुकै इच्छुक बलरहरूले भाग लिन सक्ने उनले जानकारी दिए।

बिहीबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा राष्ट्रिय टोलीका खेलाडीहरू सोमपाल कामी, अनिलकुमार साह, आसिफ शेख र ललित राजवंशीले संयुक्तरूपमा उद्घाटन गरेका उक्त अभियान जनकपुरदेखि काठमाडौंबाट सम्पन्न हुने ग्रान्ड फिनालेसम्म देशभर फैलिनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार छनोट चरणबाट उत्कृष्ट १० बलरहरूलाई काठमाडौंमा हुने अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ। ग्रान्ड फिनालेका विजेतालाई नगद १ लाख रुपैयाँसहित भारतको एक प्रतिष्ठित क्रिकेट एकेडेमीमा तीन महिनाको प्रशिक्षण पूर्ण खर्चसहित उपलब्ध गराइनेछ। दोश्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर