सुरुङ्गा।


नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरका उम्मेदवार एकराज उप्रेतीले सो पदमा आफू निर्वाचित भए प्राप्त हुने तलवभत्ता नलिने घोषणा गरेका छन् ।
निर्वाचित हुँदा ५ वर्ष सम्म नै आफ्नो तलब र भत्तावापत प्राप्त हुने सबै रकम बालबालिकाको शिक्षा र सामाजिक सुरक्षामा खर्च गर्ने उप्रेतीले बताए ।
मत माग्दै घरदैलो अभियान टोल र वडा सभामा व्यस्त रहेका उप्रेतीले सार्वजनिक रुपमा उक्त घोषणा गरेका हुन् । ‘मत माग्दै कनकाई बासीको घर–घरमा पुग्दा कतिपय परिवारको गरिबी, अभाव, बालबालिका शिक्षाबाट वञ्चित भएको अवस्थाले मेरो मन छोयो’ –उनले भने– ‘मैले प्राप्त गर्ने सबै सुविधा अझ त्यसमा आफ्नो तर्फबाट थपेर म त्यस्तो परिवार र बालबालिकाको शिक्षामा खर्च गर्छु ।’
स्थानीय तह पदाधिकारीका लागि नगरपालिकामा मेयरको तलब मासिक ४० हजार रुपैयाँ र बैठक भत्ता एक हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त रकमको आधारमा मेयरले पाँच वर्षे अवधिमा २५ लाख रुपैयाँभन्दा बढी तलबभत्ता प्राप्त गर्ने देखिन्छ । कनकाईमा कांग्रेसबाट मेयरका उम्मेदवार उप्रेतीले उक्त सुविधा महिला, बालबालिका, अपाङ्गता भएकाहरु, एकल महिला, वृद्ध मातापिता र विपन्न गरीब परिवारको हितमा खर्च गर्ने बताए ।
उनले दलित, आदिवासी, जनजाति, मुश्लिम, सन्थाल, अल्पसंख्यक, सीमान्तकृत, बालबालिकालाई निःशुल्क उच्च शिक्षासम्म पढाईको ग्यारेन्टी गर्ने समेत बताए । कनकाई नगरलाई भ्रष्टाचारमुक्त गरी समृद्ध बनाउने उनको मुख्य एजेण्डा रहेको छ ।

