[पार्थ मण्डल]
भद्रपुर।
राजनीतिक दलले सहयोग नगर्दा झापामा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्न थालेको निर्वाचन अधिकृतहरुले गुनासो गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाले बुधवार आयोजना गरेकोे निर्वाचन आचारसंहिता अनुगमन बिषयक अन्तरक्रिया कार्यक्रममा झापाका निर्वाचन अधिकृतहरुले यस्तो गुनासो गरेका हुन् ।
असार २ गते हुने मनोनयन दर्ता र असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दलहरुले आयोगले जारी गरेको आचारसंहिता २०७३ पालन गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए । कमल गाउँपालिका निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले सार्वजनिक स्थलमा आचारसंहिता विपरीत दलहरुले चुनाव चिन्ह अंकित झण्डा, व्यानर, टी सर्ट, टोपी, झोला, साडी प्रयोग गरिरहेको बिषयमा सर्वदलीय बैठक बोलाएर जानकारी गराएर लिखित प्रतिवद्धता गराए पनि दलहरुले कार्यान्वयन नगरेको बताए ।
दमक, बिर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगर, भद्रपुरका सार्वजनिक स्थलमा पनि यस्ता चुनावी सामग्री प्रयोग भइरहेको बिषयमा सम्बन्धित स्थानीय तहमा सर्वदलीय बैठक बोलाएर आचारसंहिता पालना गर्नुपर्ने सहमति गरे पनि दलहरुले व्यवहारमा नल्याएको त्यहाँका अधिकृतहरु बताउँछन् ।
त्यस्तै जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक इन्द्रकुमार योङ्हाङले प्रस्तुत गरेको अनुगमन प्रतिवेदनमा पनि विभिन्न दलहरुले झापामा आचारसंहिता उल्लंघन गरेको उल्लेख छ । विशेषगरी राजमार्ग, सहायक राजमार्गका चोक तथा बजारका सार्वजनिक स्थलमा पार्टीका झण्डा, व्यानर लगाएको, सार्वजनिक सवारीसाधनमा झण्डा लगाएको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
यता झापामा आचारसंहिताको उल्लंघनका घटना बढेको भन्दै झापाका प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले मनोनयन दर्तापछि आचारसंहिता पालनामा कडाइ गरिने बताए । उनले झापाका सबै निर्वाचन अधिकृतले आफनो क्षेत्रमा आचारसंहिता पालना गराउन दलहरुलाई आग्रह गर्न जोड दिए । ‘हामीले आचारसंहितामा कडाइ गरेनांै भने झापामा आचारसंहिताका उल्लंघनका घटनाहरु झन् बढन थाल्छन्, त्यसैले आ–आफ्नो निर्वाचन क्षेत्रमा रहेका दलहरुलाई बोलाएर यसको पालना गर्न भन्नुहोस् अनि मात्र रोकिन्छ’ उनले भने ।
जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले झापामा आचारसंहिता पालना गर्न सम्पूर्ण दल तथा उम्मेदवारलाई आग्रह गरेका छन् । आचारसंहिता विपरीत उम्मेदवारले प्रचारप्रसार गरेको भेटिएमा कानून बमोजिम कार्वाही हुने आचार्यको भनाइ छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी आनन्द नेम्बाङले असार २ गते हुने मनोनयन दर्ताका दिन हरेक स्थानीय तहको निर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिने बताए । कुनै घटना भए खटिएका प्रहरी अधिकृत वा प्रमुखलाई तत्काल जानकारी गराउन उनीहरुले आग्रह समेत गरे ।
भद्रपुरमा मनोनयन दर्ताको समयतालिका निर्धारण भद्रपुर नगरपालिका क्षेत्रका सात वटा दलहरुले प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेलाई असार २ गते हुने मनोनयन दर्ताको सयमतालिका बारेमा जानकारी गराएका छन् ।
दलहरुले उम्मेदवारी दिने दिन सहज रुपमा कार्यसम्पादन गर्ने उद्देश्यले प्रमुख निर्वाचन अधिकृत पाण्डेको अध्यक्षतामा राजनीतिक दल तथा सञ्चारकर्मीसहित बसेको सर्वदलीय वैठकमा समय निर्धारण गर्दै कार्यक्रमका बारेमा जानकारी गराएका थिए । मनोनयन दर्तामा राप्रपाले भद्रपुरस्थित सामुदायिक विकास केन्द्रमा भेला भइ साढे १२ बजे जिल्ला समन्वय समितिको भवनमा स्थापित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गर्ने भएको छ । नेकपा एमालेले विद्युत् प्राधिकरण अघिको मैदानमा भेला भई १२ बजे उम्मेदवारी दर्ता गर्ने भएको छ ।
त्यसैगरी माओवादी केन्द्रले वीरेन्द्र मावि चन्द्रगढी छेउवाट र्यालीसहित दिउँसो १ बजे उम्मेदवारी दाखिला गर्ने भएको छ । एसएसपी मोड अघिको खेतमा जम्मा भई २ बजे नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी दिने भएको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले भद्रपुरस्थित राष्ट्रिय बाणिज्य बैंक पछाडि भेला भई साढे ३ वजे , संघीय समाजवादी फोरमले विद्युत कार्यालय अघिको चौरमा भेला भई ४ वजे र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले विद्युत् प्राधिकरण अगाडि जम्मा भई साढे ३ बजे उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको प्रमुख निर्वाचन अधिकृत पाण्डेले बताए । समय र भेला हुने स्थान निश्चत नहँुदा दलहरुबीच समस्या हुने कुरा लगायत सुरक्षामा सजिलोका लागि दलहरुलाई बोलाएर निर्णय गरिएको पाण्डेको भनाइ छ ।
उम्मेदवारी दर्ता गर्न आउँदा प्रस्तावक र समर्थकमा पनि सहज गराउन पाण्डेले दलहरुलाई सुझाव दिएका छन् । निर्देशिकाले ३ सय मिटर वरिपरिको क्षेत्रलाई पाटीको कार्यक्रम नगर्ने उल्लेख गरेकाले दलहरुले ध्यान पुर्याइदिन हुन समेत उनले अनुरोध गरे ।