Aamsanchar

भिजिट भिसामा विदेश जाने नेपालीका लागि हवाई टिकट नियम कडा : अब गन्तव्य नपुग्दासम्म रद्द गर्न नमिल्ने

Author Image
सोमवार, असार २३, २०८२

काठमाडौं ।   सरकारले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि हवाई टिकटसम्बन्धी नियमलाई थप कडा बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सबै एयरलाइन्सलाई परिपत्र जारी गर्दै गन्तव्य मुलुक नपुगुन्जेलसम्म फर्किने ९रिटर्न० टिकट रद्द गर्न नपाइने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सरकारले यसअघि नै भिजिट भिसामा वैदेशिक यात्रा गर्न चाहने नागरिकका लागि दुईतर्फी टिकट, होटल बुकिङ र विदेशी मुद्राको व्यवस्था अनिवार्य गरिसकेको छ। तर पछिल्लो समय बोर्डिङ पास प्राप्त भएलगत्तै कतिपय यात्रुहरूले टिकट रद्द गर्ने, जसका कारण उनीहरूको नियतमा शंका हुने र भिजिट भिसाको दुरुपयोग हुने गरेको पाइएको छ।

विभागको भनाइमा, केही यात्रुहरूले नेपालका अध्यागमन प्रक्रिया पूरा गरेपछि टिकट रद्द गर्ने जस्ता कार्यले सरकारको नीति र नियमन कमजोर बनाएको छ। यसले मानव बेचबिखन, शोषण तथा विदेशमा अलपत्र पर्ने जोखिम बढाउने भएकाले अबदेखि गन्तव्य मुलुकमा अध्यागमन प्रक्रिया नपुगेसम्म टिकट रद्द गर्न नपाइने व्यवस्था अनिवार्य रूपमा लागू गर्न एयरलाइन्सलाई निर्देशन दिइएको हो।

यस नयाँ निर्देशनले भिजिट भिसाको नाममा हुने अवैध कार्यलाई रोकथाम गर्ने र वैधानिक यात्रु सुरक्षाको सुनिश्चितता गर्ने सरकारको उद्देश्यलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर