Aamsanchar

देशभर मनसुनी वर्षा सक्रिय, पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना

Author Image
बुधवार, असार ३२, २०८२

बिर्तामोड। देशभर मनसुनी वायुले सक्रियता देखाइरहेको अवस्थामा आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

कोसी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको चेतावनी दिइएको छ भने मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

यससँगै कोसी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

रातिको समय देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोसी, मधेस र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, यी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, हाल देशभर मनसुनी न्यूनचापीय रेखा पश्चिमतर्फ औसत स्थानको आसपास र पूर्वतर्फ केही उत्तर सरेको छ। यसले गर्दा पूर्वी नेपालमा विशेषगरी झापा, इलाम, मोरङलगायतका जिल्लाहरूमा गएरातिदेखि नै निरन्तर झरी परिरहेको छ।

वर्षाका कारण कृषि क्षेत्रमा राहत पुगेको किसानहरूको भनाइ छ। लामो समयको पर्खाइपछि परेको झरीले धान रोपाइँ लगायत मौसमी खेतीमा सकारात्मक प्रभाव पारेको छ। सानातिना खोल्सा र नाला क्षेत्रमा पानी जम्न थालेको छ, जसले माटोमा पर्याप्त नमी दिन थालेको छ।

दक्षिणी तराई क्षेत्रका धेरै भूभागमा पनि झरी पर्ने सम्भावना रहेकोले त्यहाँका बासिन्दालाई सतर्क रहन भनिएको छ।

सावधानी सुझाव

भारी वर्षाको सम्भावित स्थानहरूमा बाढी र पहिरोको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। यात्रामा निस्कँदा मौसमको जानकारी लिएर मात्र निस्कन तथा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२