Aamsanchar

एक वर्षमा विदेशमा ज्यान गुमाउने १४०० बढी नेपालीको शव नेपाल फर्काइयो, अधिकांश युवा

Author Image
बुधवार, साउन १४, २०८२

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार ४०१ जना नेपालीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु हुने दरमा चिन्ताजनक वृद्धि भएको छ, जसमा प्रमुख हिस्सा देशका उत्पादनशील उमेर समूहका युवाहरूको रहेको छ ।

प्रहरी तथ्यांक अनुसार, विदेशमा मृत्यु हुनेमध्ये सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । यो समूहका २३३ जनाको शव नेपाल फर्काइएको छ । त्यसपछि ३१ देखि ३५ वर्षका २२६ जना, ३६ देखि ४० वर्षका २२५ जना, ४१ देखि ४५ वर्षका २१५ जना र २१ देखि २५ वर्ष उमेर समूहका १७२ जनाको शव ल्याइएको छ ।

२० वर्षभन्दा कम उमेरका २९ जना, ४६ देखि ५० वर्षका ११७ जना, ५१ देखि ५५ वर्षका ७१ जना, ५६ देखि ६० वर्षका २४ जना, ६१ देखि ६५ र ६६ देखि ७० वर्ष उमेर समूहका जनाजाती १२/१२ जनाको पनि शव फिर्ता गरिएको छ । यस्तै, ७० वर्षभन्दा माथिका ६५ जनाको पनि अन्तिम यात्रा स्वदेशमै सम्पन्न गरिएको छ ।

यस अवधिमा वैदेशिक रोजगार विभागले ४८१ शव झिकाएको छ भने १ हजार ८६ शव मृतकको घरसम्म पु¥याएको जनाएको छ । विभागले मृत्यु भएका १ हजार ५१७ कामदारका परिवारलाई गरी कुल १ अर्ब २ करोड ३४ लाख रुपैयाँ राहत वितरण गरेको छ । सरकारले प्रत्येक मृतकको परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिँदै आएको छ ।

यस्ता तथ्यहरूले वैदेशिक रोजगारीका नाममा देशको युवा शक्ति निरन्तर गुम्दै गएको संकेत गर्छ । अभाव, अवसरको खोजी र बाध्यताको चपेटामा परेका हजारौं नेपाली युवा बिदेसिए पनि, धेरैजसोको यात्रा घर फर्किने सपना अधुरैमा टुंगिने देखिन्छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर