Aamsanchar

जग्गा प्रकरण लगायत विषयमा बचनवंशी कबीर संस्था, कनकाइ न.पा. ४, झापाको प्रेस विज्ञप्ति

Author Image
बुधवार, साउन १४, २०८२

आदरणीय संचारकर्मी मित्रहरू तथा आम जनसमुदायहरु,
वचनवंशी कबीर आश्रम कनकाइ न. पा. ४, कोटिहोम, झापाको भोगचलनमा रहेको जग्गा सम्वन्धमा पछिल्लो समयमा भइ रहेका गतिविधिहरू र त्यसको प्रतिक्रिया स्वरूप विभिन्न सार्वजनिक मिडियामा आएका प्रचार सामाग्री तथा टिका टिप्पणीहरू हेर्दा केही भ्रामक, यथार्थरहित र नकरात्मक शन्देस प्रवाह हुने खालका तथ्यहरू पनि सार्वजनिक भइ रहेका पाइएकोले यस सम्वन्धमा सत्य तथ्य कुराहरु निम्नानुसार रहेको कुरा अवगत गराउँदै यसै अनुसार अवगत गर्नु हुन वा प्रचार प्रसार सामाग्री सम्प्रेषण गर्नु गराइ दिनुहुन सादर अनुरोध गर्दछौः

कनकाइमा कबीर कुटि वा आश्रम स्थापनाको इतिहास
कनकाइ नगरपालिका वडा नं ४ मा रहेको कबीर आश्रमलाइ ऐतिहासिक काल देखि नै सामाजिक रूपमा कबीर कुटि भन्ने गरिएको छ । यो आश्रम कहिले स्थापना भयो र यसको इतिहास के कस्तो छ भन्ने बारेमा सर्वप्रथम स्पस्ट पार्न चाहान्छौ ।
२०२२ साल तिर वा जतिवेला महेन्द्र राजमार्ग र कनकाइ पुलको निर्माण भरखर प्रारम्भ हुदै थियो । त्यो वेला कबीर धर्म प्रति आस्थावान साधुमाताहरू प्रेम दासी र कृस्ण दासीको अगुवाइमा तत्कालिन जिम्दार देवी प्रसाद उप्रेती संग आदेश लिएर ४ विगाहा जग्गा फडानी गरीयो । तर पछि विभिन्न प्रकारले जग्गाको केही भागहरू छोडीएर २०५२ सालमा आयोग मार्फत नापी दर्ता हुदा २ विगाहा १६ कठाको मात्र फिल्ड वुक नापी दर्ता भएको थियो ।
जंगलमय र बाग लाग्ने यस ठाउँमा ति माताहरू वस्न सक्ने अवस्था थिएन त्यसैले उहाहरूले अर्जुनधारा नजिक स्थायी बसोवास गर्नुभयो । तर यस जग्गामा कवीर संत आश्रम बनाउने भनी सानो कुटि बनाएर एक जना फकीर साधु फक्कडदास राइ नाम गरेका बाबालाइ यो स्थान कुर्ने जिम्मा दिनु भयो ।
तर २०२६ सालमा भिक्षाटनमा जान्छु भनी हिड्नु भएका फकडदास बावा फेरि कहिले फर्किनु भएन । त्यसैले यस स्थानको शुरक्षार्थ अर्र्काे संन्त खोज्ने क्रममा दुवै माताहरूले एक जना दुखित र आफन्तबाट अपहेलित मातालाइ जिरायतमा बाट खोजेर ल्याउनु भयो । उहाको नाम हरिदासी सिटौला हो। जो विधवा हुनुहुन्थ्यो र खुटा को अगाडिको भाग वा पंजा थिएन । २०२७ साल देखि उहाँलाइ कबीर कुटिको रेखदेखको जिम्मेवारी दिइयो । उहाँले धेरै फलफूलका बोट लगाउनु भयो र आश्रममा आउने साधु सन्त र पाउना लाइ सेवा पनि दिनु भयो । यस स्थानमा विभिन्न समयमा भजन किर्तन सतसंग र गर्न विभिन्न स्थानबाट कबीर साधु संतहरू पनि आउँथे । र यस स्थानको नाम नै कबीर कुटी रहन गयो ।
समय क्रम संगै, कबीर आश्रममा देवी दास सुवेदी, भटराइ माहाराज लगायत धेरै संतहरू स्थायी रूपमा वस्न थाले । २०३७ साल तिर संस्थाको जग्गामा खेति मजदुरी सघाउन साधु परिवार सहितका टंकदास मिश्र र २०५० सालमा अन्तरे मिश्र भनिने भाइ, लगायत सवै आश्रमको सयोगार्थ वस्न थाल्नुभयो । त्यस्तै काहिली भनीने नैनकला मिश्र माता, सिवाकोटि माता पिता, विचारी माता, कृस्ण दासि माता, लगायत अरु पनि धेरै माता र साधुसंतहरू पनि आश्रममा कोइ सेवा र कोइ साधना गरेर वसोवास गर्नु भयो । यसरी कबीर कुटी आश्रम एउटा पवित्र धार्मिक स्थानको रूपमा संचालन भइ रहेको अवस्था थियो ।

कबीर संस्था दर्ता र जग्गा फिल्ड वुक नापी दर्ता
कबीर आश्रमको आधुनिक विकास संगै २०५० साल तिर विर्तामोड निवासी सन्त इन्द्रदास थापाको अध्यक्षतामा संस्थाको आधिकारीक समिति निर्माण गरियो, र संस्थाको विधान बनाइ दर्ता गराउने कार्य समेत भयो ।
त्यसपछि, नेपालमा बहुदलिय व्यवस्थाको स्थापना पछि पहिलो पटक २०५२ सालमा एमालेको सरकार बनियो, जस अन्तरगत गठन भएको अर्जुन राइ अध्यक्ष रहेको सुकुम्वासी समाधान आयोग जिल्ला समिति झापाले अन्यत्रको नापी गरे संगै कबीर संस्थाको पनि जग्गा नापि फिल्ड वुक गरियो । जसमा २ विगा १६ कठा क्षेत्रफल संस्थाको नाउँमा कायम भयो । तर यो सरकार महिना मै विघटन भएकोले हाम्रो संस्था लगायत जग्गा नापी भएका धेरै जनताले धनिपुर्जा पाउन सकेनन ।
त्यो बेलाको नापी गर्दा कतैवाट कसैले पनि यो जग्गा उपर दावि विरोध गरेको अवस्था पनि थिएन र संस्था भित्र लामो समय देखि बस्ने हरिमायाँ सिटौला लगायत सवै साधु सन्त र संस्था अनी पार्टी प्रतिनिधि सवैको सर्व सहमतिमा कबीर संस्थाको नाममा जग्गा नापी गरिएको थियो ।
त्यसपछि, विस्तारै देशमा राजनैतिक द्वन्दकाल शुरू भयो र लामो समय सम्म नेपालमा जग्गा धनी पूर्जा वितरणको कार्य पुन शुरू हुन सकेन । र यस संस्थाले पनि धनिपूर्जा प्राप्त गर्न सकेन । संस्था बाहेक यो जग्गामा ब्यक्तिगत हक दावी गर्ने कुरा कसैले कल्पना समेत पनि गरेको थिएन ।

संस्थाको पक्की भवन निर्माण लगायतका कार्यहरू
राजनैतिक द्वन्द कालमा जग्गा धनिपूर्जा प्राप्त हुन नसके पनि विधान अन्तरगत बनेका समितिहरूले संस्थालाइ ब्यवस्थित बनाएका थिए । नियमित साधारण सभा, आय ब्यय लेखा परिक्षण, संस्थाको बार्षिक नविकरण लगायतका कार्यहरू जारी रहे । पानि मोटर जडान भयो । भाडा वर्तन कुर्शी मसलन्द आदी सामाग्रीहरू जोडिए ।
सवैभन्दा महत्वपूर्ण कुरा यस अवधिमा संस्थाको पक्की आश्रमको निर्माण भयो । जुन भवन आज पनि कबीर आश्रमको पक्की भवनको रूपमा चिनिन्छ । यो भवन तत्कालिन अध्यक्ष विर्तामोड निवासी समाजसेवी संत इन्द्र दास थापाज्यूको प्रमुख लगानीमा २०५५ साल देखि निर्माण प्रारम्भ भएको हो ।
संत इन्द्रदास थापाज्युले आफ्नो खर्चमा यो भवनको एक तला पुरा गरे पछि उहाँ स्वर्गारोहण हुन भयो र पछि विभिन्न मितिमा क्रमश लगानी गरेर वहाँका सुपुत्र हरूले हल सहितको यो भवनको दोस्रो तल्ला समेतको निर्माण सम्पन्न गराइ दिनु भएको हो ।

संस्थाको जग्गा कमाउन ससर्त दिएको अवस्था
कबीर संस्थामा धेरै साधु सन्त पाहुनाहरू आइ रहने हुनाले जहिले पनि खाद्यान्नको जरूरत पर्दथ्यो । केही खाद्यान्न दान सहयोग बाट आउने भए पनि त्यो पर्याप्त थिएन । त्यसैले कबीर संस्थाको आफ्नै जग्गामा धान खेति गर्न जरूरी थियो । तर संस्थाको पूर्वको जग्गा उच्च भूभाग भएकोले सवै जग्गामा धान खेति हुदैन थियो र त्यहा आप अनारस, केरा लगायत बगैचा लगाइएको अवस्था छ । तर पश्चिम तर्फको करिव एक विगा जग्गामा धान खेति हुने गहिरो भूभाग छ ।
यसरी संस्थाको आफ्नो भोगचलनको जग्गा भए पनि नियमित खटेर खेति बालीको काम गरी दिने सेवक वा कामदार पाउन गारो भयो र संस्थाको खेति अधिया, पारिश्रमिक वा ठेकामा गरी दिने मानिसको खोजी भयो । यस्तै अवस्थामा आश्रम मै स्थायी वस्ने माता हरिदासि सिटौलाले दयाराम उप्रेति नामक ब्यक्ति खोजेर उहाँलाइ खेति गर्न दिदा राम्रो हुन्छ भनेर संस्थालाइ सल्लाह दिए पछि, उहाँलाइ संस्थाले माइन्यूट निणर््ाय गरेर केही समय खेति कमाइ गरि दिनको लागि पश्चीम तर्फको १० कठा जति गहिरो भूभाग दिएको अवस्था हो । यो २०६६ साल तिरको कुरा हो ।
जस अन्तरगत दयाराम उप्रेतीले केही वर्ष खेति गरेर संस्थालाइ अधिया वा तिरो स्वरूप केही धान दिएको पनि थिए । तर माओवादी दन्दकालको विसम परिस्थीतीको फाइदा उठाउँदै र कसैको उक्साहटमा लागेर उनले संस्थालाइ केहि पनि उब्जनी बुझाउन छोडेको अवस्था देखिन्छ ।
दयाराम उप्रेतिलाइ संस्थाले पश्चिम तर्फको केही भाग जग्गामा खेति गरेर संस्थालाइ अधिया वा तिरो वुझाउन केही वर्ष दिएको रेकर्ड संस्थाको माइन्युटमा भेटिन्छ, जहां उनको परीवारको सही पनी छ, त्यसैले यसमा अन्यथा केही अन्योल हुनु पर्ने कुनै कारण नै छैन ।
उनलाइ संस्थाले जग्गा दान दिएको पनि हैन र कबीर संस्थालाइ त्यसरी जग्गा दान गर्ने अधिकार पनि छैन । संस्थाको केही जग्गा खेति कमाइ गरेर संस्थालाइ पनी सहयोग हुने र उनको परीवार पनि पालीने भनेर अस्थाइ रुपमा दिएको हो । यद्दपी उनि बाहिर प्रचार गरिए जस्तो सुकुम्वासी पनि होइनन र अन्त पनि उनको जग्गा भएको कुरा शुरु मै जानकारी मा आएको थियो ।

मूल संरक्षक हरिदासी सिटौला माताको स्वर्गारोहण
यसै विच कबीर संस्थाको जग्गाको मूल संरक्षकको रूपमा राखिएकी माता हरिदासी सिटौलाको २०६८ साल मंसिर महिनामा दुखद स्वर्गारोहण भयो । तर जिवन भर कबीर संस्थाको आश्रयमा बाच्नु भएकी र आफन्त कोही नदेखीएकी माताको स्वर्गारोहण हुना साथ केही आफन्तहरू देखा परेर उनले संस्थामा रहदा फलफूल वेचेर साचेर राखेको उनको पेवा पैसा वा थैलीको रू ६६ हजार पनि झिकेर लगे । यसमा कबीर संस्था अचम्भित हुदै आफू आफूमा दान सहयोग उठाएर माताको काजकृया भजन भन्डारा सम्पन्न गरिएको अवस्था थियो ।

माताको स्वर्गारोहण पश्चात भू माफिया हरूको चलखेल शुरू
२०६८ साल वा माता हरिदासी सिटौला स्वर्गारोहण हुने केही अघि सम्म पनि कबिर संस्थाको जग्गामा कुनै किसिमको किचोला वा कतैवाट हक दावी कतै बाट थिएन र त्यस्तो हुनु पर्ने अवस्था पनि केही थिएन किनकी यहा सवै धार्मिक संस्थाकै सेवकहरू मात्र थिए । तर उहाँको निधन हुना साथ आफू उहाँको हकवाला भएको वा आफूलाइ लिखत गरि यो जग्गा दिएको आदि विविध कुराहरू अकस्मात लिएर बाहिर बाट धेरै मानिसहरू सतहमा देखिन थाले ।
माओवादी द्वन्दको अन्त्य र शान्ति स्थापनाको प्रारम्भ संगै ठिक यही समयमा नेपालमा सहमतिको सरकार बन्यो र सो सरकारले सुकुम्वासी आयोग गठन गरी पुराना नापी भएका जग्गामा धनिपूर्जा वितरण गर्न थाल्यो ।
कबिर संस्थाले पनि आफ्नो २०५२ सालमा नापी भएको आधारमा धनीपूर्जा दिइयोस भनेर तत्कालिन सुकुम्वासी आयोगमा निवेदन गर्यो । झापामा सुकुम्वासी आयोगका अध्यक्ष श्री प्रेम प्रसाद दाहाल ज्यूले धनिपूर्जा वितरणको तयारी गरि रहदा यता कबीर संस्थामा विभिन्न अधिकारवादीका नाममा कबीर संस्थाको जग्गा हडप्ने, धनी पूर्जा ल्याउन नदिने र अन्त्यमा मुद्दामा जाने सम्मका प्रपन्च शुरू गरिए । तर जति सुकै सुकुम्वासी वा गरीव आदी नारा दीए पनि त्यसका पछि उचाल्ने मानिसहरु को नीयत जग्गा हडप्ने वा सस्थालाइ समाप्त गर्ने गरी आएको देखिन्थ्यो ।

सहिद परिवारको नाउँमा रातारात जग्गा कब्जा
यसै विच, २०६८ सालको प्रारम्भ संगै वा संस्थाले प्रेम दाहाल आयोगमा धनिपूर्जाको पहल गरी रहदा यस संस्थाको जग्गामा अर्को आकस्मिक अधिक्रमण भयो । जस अनुसार संस्थाको भवन नजिकै राता रात दशौ घर टहरा बनाइए र सहिद तथा सुकुम्वासी को नाममा मूल जग्गा नै अतिक्रमण गरिएको घोषणा गरियो ।
त्यसरी संस्थाको परिसर मा जग्गा अतिक्रमण गर्ने हरूले केहि महिना त्यही कुरेर वसे । साथै उनिहरूले कबिर संस्थाका समिति, साधु सन्तहरूलाइ पनि धाक धम्की डर त्रास देखाउने र त्याहाका बाली विरूवा फाड्ने देखि विभिन्न हत्कन्डा अपनाए ।
यस्तो अवस्थामा संस्थाले जिल्ला माओवादि पार्टी लगायत विभिन्न पार्टिहरूमा समन्यय र बार्ता गर्यो । पटक पटक सार्वजनिक वैठक वसियो, अनेकन पत्रकार सम्मेलन भयो । साथै जिल्ला प्रशाशन लगायत विभिन्न निकायमा पटक पटक उजुरी गर्यो र धेरै महिनाको प्रयास पश्चात नेपाल प्रहरी र कबीर संस्थाका अनुयायीहरूको ठूलो भेलाले सो अवान्छित हस्तक्षेपकारी समुहलाइ धपाउने कार्य भयो ।

संस्थाको जग्गा हडप्न मुद्दा लगाउन शुरू गरियो
२०६८ सालमा रातारात अवान्छित वसोवास गरेका समुह याहावाट हटाए पछि पर्दा पछाडि वसेर भूमिका निरवाह गरी रहेका भु माफीयाहरूले अव अर्को विकल्प रोज्न शुरू गरे । र याहाका केही साधुनी माताहरू, कविर संस्थाका पुराना केही सेवकहरू लगायत उचालेर सुकुम्वासी अधिकारको नाउँमा संस्था विरुद्ध सार्वजनिक बदनामी गर्ने काम शुरु भयो ।
र अन्त्यमा, जिल्ला अदालत झापामा संस्था विरूध्द मुद्दा हालियो ।
उहाँहरूको आरोपमा कबिर संस्थाले गरिव सुकुम्वासी को जग्गा हडपेर खाएको वा गोप्य रूपले नाप नक्सा र जाल झेल गरी गरिवको उठिवास गराएको भन्ने लगायत थियो ।तर यो मुद्दामा अदालतबाट कबीर संस्थाकै पक्षमा फैसला आयो र उहाँहरूले हार्नु भयो ।
यस पछि पुनः पुनरावेदन अदालत इलाममा यही मुद्दालाइ पुनरावेदन गरियो र गरिव सुकुम्वासी लाइ कविर संस्थाले जालझेल गरेको भनियो । तर पुनरावेदन अदालत इलामले पनि कबिर संस्था कै पक्षमा फैसला गर्दै सुकुम्वासी भनिएका कुनै परिवारको पनि सो जग्गामा हक दावी रहनु पर्ने अवस्था नदेखिएको भनेर फैसला आयो ।

सर्वोच्च अदालत सम्म यो मुद्दा पुर्याइयो
दुवै अदालतले कबीर संस्थाकै पक्षमा फैसला गरे पछि कसैको उक्साहटमा लागेर मुद्दामा लाग्नु भएका कबिर संस्था भित्र रहने दुइ घर परिवारले पनि आफ्नो गल्ति स्विकार गरी प्रेस विज्ञप्ति जारी गरेर कबिर संस्था संग सेलिन्डर गरे पछि मुद्दावालाहरू झन अप्ठेरोमा परे । र अन्त्यमा बाकी रहेकी एक महिला वृद्द साधुनी माता नैनकला मिश्र र अधिया खेति कमाउने दयाराम उप्रेति परिवार लाइ उक्साएर सर्वोच्च अदालत गए ।
यस पटक उहाँहरूले कबीर संस्थालाइ मात्र होइन, सुकुम्वासी आयोग लगायतलाइ समेत विपक्षी बनाइ मुद्दा दायर गरेको अवस्था थियो ।
तर नेपालमा यहि वेला शान्ति स्थापना र संविधान निर्माण लगायतका विभिन्न कार्यहरू भइ रहेका, मुद्दाको चाप पनि बढि भएको र सम्भवत कानुनको पनि अभाव संक्रमण काल आदि विविध कारण ले हुन सक्छ सम्मानित सर्वोच्च अदालत बाट झन्डै १० वर्ष यो मुद्दा को फैसला भएन ।

विचराधिन मुद्दा कै अवधिमा जग्गा अतिक्रमण तिब्र भयो र केही घरहरू बनाइए
यसरी सर्वोच्चमा मुद्दा विचराधिन भए पश्चात विपक्षीहरूले झन बढि संस्थाको हाता क्षेत्रमा दवाव बढाए । २०७० पछीको एक दशकमा अज्ञात मानिसहरुको जथाभावी बसोवास र चहल पहल बढेको देखियो । उनिहरूले त्याहा भएका वोटविरूवाहरूमा दखल जमाए । जथाभावि र जवरजस्ती टेक्टर लगाएर जोते ।
रोकथाम गर्न जाने संस्थाका पदाधिकारीलाइ ढुङगा हानियो, पटक पटक संस्थाका संरक्षकलाइ आक्रमण भयो । आश्रमका साधु सन्त माताहरूलाइ जथाभावी वोलियो, र अनेकन गाली र दवाव दिइयो ।
सवै भन्दा ठूलो कुरा उनिहरूले वाहिरका मानिसको उक्साहटमा जबरजस्ति केही अर्धपक्की घरहरू पनि यसै वेला बनाएका छन । संस्थाले यस प्रकारका अवैध घरहरु नवनाउन र रोकथाम गर्न पटक पटक सम्झाएको थीयो । तर उल्टै गाली वर्सीने र आक्रमण प्रयास हुने अवस्था थीयो । अव अदालतको मुद्दा हामीले जितेका छौ । याहा कबिर संस्थाको केही पनि छैन भन्दै उनीहरुले जवरजस्ती गरे, प्रहरी कार्यलय र सीडीयो को आदेशहरु पनि कार्यन्वयन भएन ।

सर्वोच्च अदालतको फैसला आए पछिको अवस्था
अहिल वा २०८२ मा आइ पुग्दा, सालमा सर्वोच्च अदालतको फैसला मार्फत उहाँहरू हामीले जितेको भनेर दावी गर्नु हुन्छ । तर फैसलामा कसैको नाम किटान गरेर कति जग्गा पाउने वा नपाउने भन्ने त्यस्तो उल्लेख पाइन्दैन । साथै संस्थाको नाउँमा जग्गा नापि गर्दा पनि विगतका आयोगको नीयम प्रकृया नपुगेको भनिएको छ । र कुनै पक्षले पनि जग्गाको स्वमीत्व पूर्जा तुरून्त पाउने गरी फैसला भएको छैन ।
बरू स्थानिय निकायलाइ यस जग्गा विषयमा आवश्यक संरक्षण, छानविन, र आवश्यक प्रकृया अघि बढाउने जिम्मेदार ठहराइएको अवस्था छ ।
यसरी सम्मानीत सर्वोच्च अदालतको फैसला आए पछि यस नगर भित्रका यस प्रकारका सार्वजनिक महत्वका बहुमूल्य जग्गाको संरक्षण गर्ने दायित्व पनि नगरपालिकाको हुनु स्वभाविक नै हो ।

संस्था हाता क्षेत्रमा भैरहेका गतिविधिको पछिल्लो अवस्था
हाल यस जग्गाको शुरक्षा गर्ने दायित्व अन्तरगत कनकाइ नगरपालिकाले यो अन्योलमा परेको आफ्नो नगर भित्रको सार्वजनिक वा धार्मिक गुठिको भनिएको जग्गालाइ प्रथम चरणमा घेरावारा गरी संरक्षण गर्ने र दोस्रो चरणमा सो जग्गाको भोगाधिकार वा उपयोग विधिसम्मत रूपले कसरी मिलाउने भन्ने बारेमा आवश्यक छलफल र कानुनी प्रकृयाहरू मिलाएर अगाडि बडाउने भनेर कार्य शुरू गरेको छ ।
यसरी आधिकारीक सरकारी निकाय नगरपालिकाले यो बहुमूल्य सार्वजनिक सम्पतिलाइ सुरक्षा गर्न खोज्दा कबीर संस्थाले असहमति देखाउनु पर्ने कारण पनि हुदैन । किनकी धार्मिक संस्था पनि सार्वजनिक निकाय नै हो । र यो संस्थाको उद्देश्य पनि समाजमा सेवामूलक हितका कार्यहरू गर्न पनि गठन भएको हो ।

पछिल्लो विवाद र प्रतिरोधको अवस्था
सर्र्वाेच्च अदालतवाट यस जग्गा माथि जग्गा दावीकर्ताको हकदावी पाउने गरी फैसला नआए पछि यस भन्दा पहिला जवरजस्ति जोतभोग गरी रहेका केही ब्यक्तिहरूलाइ नगरपालिकाले अव उप्रान्त यसरी जथाभावी र जवर्जस्ति जोतभोग नगर्न पटक पटक आवहान गरेको थियो । तर पनि विगतमा कबीर संस्थालाइ जस्तै हेपेर उहाँहरूले जोतभोग गर्न थाले पछि विवाद र प्रतिरोधका केही घटनाहरू सार्वजनिक भएका छन ।
तर जसरी यो विषय नितान्त सुकुम्वासी समस्या भएको र संस्था वा नगरपालिकाले अहिले अकस्मात आएर हस्तक्षेप गरिएको भनेर प्रचार गर्न खोजिएको छ । वास्तविकता त्यस्तो होइन किनकी यो कबिर सम्प्रदाय ले २०२२ सालदेखि ढालफाड गरि भोगचलन गरी आएको जग्गामा केही वर्ष पहिला देखि साधुमाताहरुको निधन पछी उनीहरुका आफन्त हौ भन्नेहरुले, जग्गाको आकासिदो मूल्यलाइ देखेर अवैधानिक हस्तक्षेप बढाएको अवस्था मात्र हो ।
हाम्रो इतिहास बारेको बयान र दावी झुटो लाग्छ भने स्थानिय प्रत्यक्षदर्र्शी जनतामा वुझे हुन्छ
हामीले यस जानकारी मुलक विज्ञप्तिमा भनि रहेका तथ्य र इतिहासिक घटनाक्रम यदी झुटो हो जस्तो लाग्छ कसैलाइ भने, स्थानिय प्रत्यक्षदर्र्शी गाउ समुदायमा सर्भे गरे हुन्छ ।
यहाका वुढापाका, र भुक्तभोगी स्थानियहरूले नै भन्नेछन आखिर यो जग्गा कसको हुनु पर्ने हो र को पहिला आएका ेकसले भोगचलन गर्दै आएको आदी बारेमा सवै सत्य तथ्य कुराहरु स्थानीय प्रत्यक्षदर्शी जनताले भन्नेछन ।
तर सत्य र न्यायको पक्षमा वोल्ने यस गाउँका स्थानिय दर्जनौ ब्यक्ति र नगरपालिका विरूद्द पनि विपक्षीहरूले फेरी मुद्दा हालेको अवस्था छ । आखिर सत्यको पक्ष लिने स्थानिय जनता पनि आज उहाँहरूको दुस्मन सावित हुनु भएको छ । त्यसो भए के कनकाइको समस्याको न्याय दिन काठमाडौ को जनता आउनु पर्ने हो र?

कबीर संस्थाको सारभूत भनाइ
कबीर संस्था यस संस्थामा आश्रित कुनै साधु सन्त कुनै ब्यक्ति वा परिवार विशेष प्रति पूर्वाग्रह वा पक्षपात गर्ने संस्था होइन । यो नितान्त मानवतावादी, धार्मिक र सामाजिक सेवामूलक उद्देश्य बोकेको संस्था हो । त्यसैले यो संस्था संग कसै प्रति वैरभाव गर्नु पर्ने कुनै अवस्था पनि छैन ।
उपरोक्त उद्देश्य संगै कुनै पनि संस्थाले उसको जाय जेथा चल अचल सम्पतिको शुरक्षा गर्ने कार्य पनि त्यो संस्थाको दायित्व भित्र पर्छ । त्यसैले कबीर संस्थाले झन्डै ६० वर्ष देखि ढालफाड र भोगचलन गरी आएको र उसकै नाममा ३० वर्ष अघि नै नेपाल सरकारले नापि गरि दिएको जग्गालाइ आफ्नो सम्पति भनेर दावी गर्न पाउने की नपाउने ? हाम्रो प्रश्न एति नै थियो र छ पनि ।
तर कबीर संस्था पनि नेपालको कानुन भन्दा माथि छैन, त्यसैले यो संस्था सर्वोच्च अदालतको निर्णयलाइ सिरोपर गर्न तयार छ । र नगरपालिकाले मिलाउने आवश्यक प्रकृयाहरूमा सहभागि हुन मन्जुर छ ।

कबीर संस्थाले विगतमा कसैलाइ जग्गा दीएको छैन
अव यस जग्गा सम्वन्धि अन्य दावि कर्ताहरूको बारेमा पनि हाम्रो धारणा स्पस्ट छ । हामीले हाम्रो संस्था भित्र आश्रय दिए बापत वा सेवा गरे वापत कुनै पनि साधु सन्त माता पिताहरूलाइ जग्गा अंशवंडा गरिदिने भनेर कहिले भनिनौ र त्यस्तो भन्ने वा गर्ने अधिकार संस्थालाइ हुदैन पनि । त्यसैले उहाँहरूलाइ हामी जग्गा दिने हैसियत राख्न सक्दैनौ ।
तर पनि कबिर संस्था कुनै गरिब वा सुकुम्वासी विरोधी संस्था पनि होइन, र कसैमाथि अमानविय कार्य होस भन्ने पनि चाहदैन । त्यसैले यदि कुनै गरिव, असाहाय, वा सुकुम्वासी यस संस्था परिसर भित्र हुनु हुन्छ भने त्यस प्रकारका ब्यक्ति वा परिवारको छानविन गरी उचित न्यायमुलक ब्यवस्थापन मिलाउन नेपाल सरकार वा नगरपालिकाले उचित प्रकारको निर्णय गर्छ भने हामी त्यसमा सहयोगी बन्न पनि तयार छौ ।
साथै हाम्रो सहमति वा जानकारीमा आश्रय लिनु भएका कुनै साधु संन्त वा माता पिताहरूलाइ वसाइको वा खानपिनको अप्ठेरो अवस्था छ भने हाम्रो आश्रम भित्र समेटेर राख्न आवश्यक ब्यवस्था मिलाउन हामी प्रयत्न गर्नेछौ ।
तर संस्था ले भोगचलन गरेको जग्गामा ठाडो हस्तक्षेप गर्ने अवान्छित निति वोकेर यस संस्था भित्र अनावश्यक हर्कत गर्ने र सधै दुख दीइ रहने, यस धार्मिक संस्था संग कुनै सरोकार नै नभएका मानिसहरू प्रति कबिर संस्थाले साहानुभूति देखाइ रहनु पर्ने कुनै औचित्य हुदैन ।
त्यसैले सवैले एकतावद्ध भएर यो बहुमूल्य सार्वजनिक सम्पतिको रुपमा रहेको यो जग्गाको सुरक्षा र सही सदुपयोग गरौ । सवैमा कबीर संस्थाको यही हार्दिक अनुरोध छ ।

धन्यवाद । साहेब बन्दगी ।
मितिः २०८२।०४।१४

बचनवंशी कबीर आश्रम, कोटीहोम
कनकाइ न.पा. ४, झापा

वोधार्थः
कनकाइ नगरपालिका झापा
वडा नं ४, कनकाइ नगरपालिका, झापा
सम्वन्धित सरोकारवाला निकायहरु

यो सामग्री विज्ञापन प्रयोजनमा प्रकाशन गरिएको हो ।

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२