Aamsanchar

झापामा स्कुल भ्यान दुर्घटना: २१ जना घाइते, ७ बालबालिका गम्भीर अवस्थामा

Author Image
शुक्रवार, साउन १६, २०८२

झापा-  झापा जिल्लाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडकखण्डमा आज बिहान भएको एक सवारी दुर्घटनामा २१ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलको भ्यान आफै अनियन्त्रित भई दुर्घटना हुँदा बालबालिका र एक शिक्षकसहित चालकसमेत घाइते भएका हुन्।
दुर्घटना बिहान करिब १०:०० बजेको समयमा मागुरमाडीबाट स्कुलतर्फ जाँदै गरेको मे.१ ज. ३१०७ नम्बरको भ्यान खुट्टिडाँगीमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनास्थलमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्र.नि. पाण्डब कुमार राजवंशीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। गाडी र घटनास्थल धुलाबारी प्रहरीको नियन्त्रणमा लिइएको छ।
घाइतेको विवरणः
दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य १४ जनाको अवस्था सामान्य रहेको बताइएको छ।
गम्भीर घाइते (विएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत):
• भ्यान चालक गणेश श्रेष्ठ (४५ वर्ष), टाउकोमा चोट
• सबिस्का राई (६ वर्ष), टाउकोमा चोट
• समिरा बिसुङ्खे (४ वर्ष), टाउको र हातमा चोट
• संयोग बिसुङ्खे (१२ वर्ष), प्राथमिक उपचारपछि रेफर
• सोबिस्का राई (६ वर्ष), प्राथमिक उपचारपछि रेफर
• अंगु बराई मगर (९ वर्ष), प्राथमिक उपचारपछि रेफर
• शिक्षक प्रिति सिवा (२३/२४ वर्ष), टाउकोमा चोट
सामान्य घाइते (आम्दा अस्पताल धुलाबारीमा उपचाररत):
आदित्य राई (१० वर्ष), सदिक्षा काफ्ले (११), सोहित राजवंशी (११), आयान सुब्बा (११), अनुराग तामाङ (११), कृष्पा राई (१२), आयानि बिके (१२), प्रनिस राई (११), समर्पण राई (९), समिरा बिसुङ्खे (४), सुसिता किसान (६), तानसोना लिम्बु (६), सेसेहाङ लिम्बु (७)
प्रहरीका अनुसार चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका थिए र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक परीक्षणबाट खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

बालबालिकाको ज्यान जोखिममा पर्ने गरी भएको यस घटनाले विद्यालय यातायात सुरक्षाबारे थप गम्भीर प्रश्न उठाएको छ। अभिभावक, विद्यालय प्रशासन र स्थानीय निकायले तत्काल सतर्कता र जिम्मेवारी बढाउनु पर्ने देखिन्छ।

Views: 142

प्रतिक्रिया (०)