

झापा । संसारका सडकदेखि सम्मेलन हलसम्म आज युवाको जोश र जाँगरको चर्चा छ। अगस्त १२ — अन्तर्राष्ट्रिय युवा दिवस — फेरि एकपटक हामीलाई सम्झाइरहेको छ कि विश्वको बाटो बदल्ने सबैभन्दा ठूलो शक्ति यही उमेर समूहसँग छ।

नेपालमा भने यो दिनको अर्थ अझै गहिरो छ। कारण — हाम्रा गाउँहरूमा आजभोलि युवाको आवाज, हाँसो र उपस्थितिझैँ सुस्तरी हराउँदैछ। वैदेशिक रोजगारी, अध्ययन र अवसरको खोजीमा उनीहरू खाडीका तातो बालुवादेखि जापानका व्यस्त सडकसम्म पसिना बगाइरहेका छन्। यहाँ भने कहिलेकाहीँ गाउँको मलामीसमेत हम्मे–हम्मे पर्ने अवस्था छ।

हो, रेमिट्यान्सले घरका पर्खाललाई सिमेन्टले बलियो बनाएको छ, भान्सामा मीठा परिकार ल्याएको छ, र हातमा महँगा मोबाइल थमाएको छ। तर, के देशको भविष्य पनि यसरी नै टिक्छ ? दिनहुँ बाकसमा फर्कने केही युवा र तिनका परिवारको आँसु देख्दा उत्तर सजिलो छैन।


इतिहास साक्षी छ — कुनै पनि क्रान्ति, आन्दोलन वा विकासको लहर युवाको हातबिना अघि बढेको छैन। यही कारण हो, जब हामी ूहे युवा, जय युवाू भन्छौं, त्यसमा केवल उत्साह होइन, जिम्मेवारीको आवाज पनि मिसिएको हुन्छ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा — ‘स्थानीय क्रियाकलापबाट वैश्विक लक्ष्यसम्म’ — केवल सुत्र मात्र होइन, एउटा आह्वान हो। यो आह्वान हो, गाउँको सडकमा वृक्षारोपण गर्ने हातदेखि, जलवायु परिवर्तनको विरुद्ध आवाज उठाउने स्वरसम्म, र लैङ्गिक समानताको लागि लड्ने मनसम्म पुग्ने।
सन्देश स्पष्ट छ — युवा भनेको केवल उमेर होइन, त्यो ऊर्जा हो जसले समाजलाई न्यानो बनाउँछ, राष्ट्रलाई बलियो बनाउँछ, र विश्वलाई न्यायपूर्ण र दिगो बाटोतर्फ धकेल्छ।

