(शान्तिराम बस्नेत)
शिवसताक्षी ।
स्थानीय तह निर्वाचनमा वदर मत कम गराउन नमुना मतदान सम्पन्न भएको छ । आउँदो असार १४ गते सम्पन्न हुने स्थानीय निर्वाचनलाई लक्षित गरी सम्पन्न गरिएको सो नमूना मतदानका निम्ति शिवसताक्षी–११ दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले नमुना चुनाव मार्फत विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा विद्यालयका अन्य ५ सदस्यहरु चुन्नका लागि सो नमूना मतदान गरेका हुन् ।
विद्यालयका क्याप्टेन तथा भाइस क्याप्टेन छनोटका लागि स्थानीय चुनावमा हुने सम्पूर्ण प्रक्रिया अपनाइएको थियो । सामाजिक विषयको पाठ्यक्रममा पर्ने निर्वाचन पाठमा आधारित रहेर सो निर्वाचन गराइएको हो । सो नमूना मतदान कार्यक्रमले विद्यार्थीका आ–आफ्ना घरका अभिभावकहरुलाई बदर मत कम गर्न मतदान गर्ने तरीका, मतपत्र पट्याउने तरीका, स्वस्तिक छापको प्रयोग गर्ने तरीकाका बारेमा समेत अभ्यास गराइएको थियो ।
विद्यार्थीहरुका नेताका रुपमा अग्रीम उम्मेद्वारी दर्ता गराइ उनीहरुलाई भोट माग्ने समय समेत उपलब्ध गराइएको थियो भने विद्यार्थीहरुलाई मतदाता शिक्षा समेत प्रदान गरिएको थियो । निर्वाचन आयोगले विद्यालयमा मतदाता नामावली समेत प्रकाशन गरेको थियो । मतदानमा मतदाता नामावली नभएका विद्यार्थीहरु उपस्थित रहेका थिए भने मतदाता नामावलीमा नाम नभएका कारण नमूना मतदानबाट वञ्चित भएका थिए ।
मतदानको मतगणना भने ७ गते बिहान ११ बजेदेखि उम्मेद्वार तथा उनीहरुका प्रतिनिधिहरुबीच सहमति गराइ गणना गरिने बताइएको छ । सो नमूना मतदान निर्वाचन आयुक्तका रुपमा सो विद्यालयका सामाजिक विषयका शिक्षक श्रीप्रसाद खरेल, अनुगमनका निम्ति दूधे स्रोतकेन्द्रका स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारी, पर्यवेक्षकका रुपमा स्रोत सहायक बालकृष्ण मैनाली, विद्यालयका शिक्षकहरु मदन कुमार चङबाङ, गोविन्द काफ्ले, मित्र थापा, दुर्गादेवी भण्डारी रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले विद्यार्थीहरुमाझ मतदान गराउँदा भोलिका दिनमा विद्यार्थीहरु आफैं मतदान गर्दा बदर मत कम हुने, प्रयोगात्मक प्रविधि मार्फत अध्यापन गराउँदा छिटो बुझ्ने तथा देशको प्रजातान्त्रिक प्रक्रिया र त्यसको उपयोगसम्बन्धी प्रत्यक्ष ज्ञानका लागि यस्ता कार्यक्रम विद्यार्थीका लागि अति उपयोगी हुने बताए ।
मतदानका लागि सुरक्षा फौज, स्वयंसेवक, पर्यवेक्षक, मतदान अधिकृत, मसी लगाउने, नाम रुजु गर्ने, मतपत्र हस्ताक्षर गर्ने, मतदाता लाइन बस्ने÷मिलाउने, मतपेटिका, मतदान टेबल आदिको दुरुस्त व्यवस्था गरिएको थियो । सो विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको नमूना मतदाताहरु १ सय ७० रहेकोमा १ सय ५४ मत खसेको नमूना मतदान अधिकृत छबिलाल दवाडीले बताए ।