बिर्तामोड । झापामा नेपालकै पहिलो सर्व–समावेशी फ्रीलान्सिङ बजार ‘यहाँ छ’ डिजिटल बिजनेस प्लेटफर्म औपचारिक रूपमा सुरु भएको छ । डिजिटल प्रविधिमार्फत व्यवसाय र सेवालाई एकै थलोमा ल्याउने उद्देश्यसहित यो प्लेटफर्म सञ्चालनमा आएको हो।

प्लेटफर्मले फोटोग्राफर, डेभलपर, लेखक, ग्राफिक डिजाइनर, आईटी विशेषज्ञलगायत विभिन्न पेशागत सीप भएका व्यक्तिलाई आफ्नो सेवा प्रस्तुत गर्ने अवसर दिलाउने लक्ष्य राखेको छ। साथै, यसमार्फत ग्राहकले आवश्यक सेवाको लागि सजिलै प्रोजेक्ट पोस्ट गरी प्रतिस्पर्धात्मक मूल्यमा उपयुक्त सेवाप्रदाता छनोट गर्न सक्नेछन्।

आयोजकका अनुसार, “यहाँ छ” ले स्वदेशमै रोजगारी सिर्जना गर्ने, डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने र सुरक्षित अनलाइन कारोबारलाई प्रोत्साहन दिने उद्देश्य लिएको छ। युवाहरूको सीपलाई बजारसँग जोड्दै स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्यसमेत रहेको सञ्चालक रविन थापाले जानकारी दिए ।




डिजिटल युगसँगै व्यवसाय र सेवामा हुने परिवर्तनलाई आत्मसात् गर्दै सुरु गरिएको यो प्लेटफर्मले झापादेखि देशभरका ग्राहक र सेवाप्रदायकबीच सहज सम्पर्क र विश्वासिलो कारोबारको बाटो खोल्ने कम्पनीको दावी छ ।
रुट डेभ्स सफ्टवेयर डेभलोप्मेन्ट प्रा.लि. अर्जुनधारा ११ ले सञ्चालनमा ल्याएको यहाँ छ वेवसाइट तथा एपको बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेर आज (सोमबार) शुभारम्भ गरिएको हो । यसै अवसरमा अनलाइन रोजगारी प्लेटफर्म निर्माणमा सहयोग गर्ने झापा बिर्तामोडका युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सञ्चालक योगेश भण्डारीको अध्यक्षतामा आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि महतारा, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, रुट डेभ्स बंगलादेशका प्रमुख इलास खान, सिम्रिक सहकारीका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार रमेश तिवारीले गरेका थिए ।

