

धरान – धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा पुल नबन्दा बर्खामा स्थानीयले सास्ती खेप्नुपर्ने बाध्यता छ। पाँच वर्ष बितिसक्दा समेत पुल निर्माणको काम सकिएको छैन। हरेक वर्ष बर्खाको समयमा स्थानीयवासी जोखिम मोलेर खोला तर्न बाध्य छन् । २०७८ साउन ७ गते निर्माण भइसक्नुपर्ने पुल म्याद गुज्रिएको ५ वर्ष बितिसक्दासम्म पनि ६४ प्रतिशत मात्र काम भएको छ।

पुलको दुवैपट्टि पिलर मात्र उठाइएको छ भने अरू काम अलपत्र छ । ५ वर्षदेखि अलपत्र यो पुलले धरान–५ का बासिन्दालाई मात्र नभई धरान–४ का बासिन्दालाई पनि जोड्छ । वडा नं. ५ मा मात्रै ३ हजार ५ सय घरधुरीका करिब १५ हजार मानिसहरू बस्छन्। पुल नहुँदा स्वास्थ्य, शिक्षा, कृषिलगायतको कामका लागि सास्ती खेप्नुपरेको स्थानीय राजकुमार राईले बताए।

पुल नबन्दा बर्खाका बेला आवतजावत गर्नै गाह्रो हुने गरेको छ । ‘खोलामा बाढी आएको बेला बिरामी हुँदा कहिलेकाहीँ त हामीले बाँसमा समेत खोला तार्नुपरेको छ,’ स्थानीय राई भन्छन्, ‘समयमा पुल नबन्दा बालबालिकाको शिक्षामा समेत प्रभाव परेको छ ।’ स्थानीय सरकारले अस्थायी पुल निर्माण गरिदिएको भए पनि केही हदसम्म सहज हुने स्थानीयको भनाइ छ।

वडा नं. ५ मा कक्षा ५ सम्म मात्र अध्यापन हुने एउटा सामुदायिक विद्यालय छ । जसले गर्दा ६ कक्षामाथिका बालबालिकाले पढ्न खोला तरेर जानुपर्छ । यस क्षेत्रका मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका ५७ बालबालिका पढ्नलाई धरान बजार झर्छन्। तर समयमा पुल नबन्दा बर्खामा जोखिम मोलेर बालबालिकाहरू विद्याल आउनुपर्ने बाध्यता छ ।
पटक-पटक म्याद थप गर्दा समेत ठेकेदारले काम पूरा नगरेको वडाध्यक्ष मनप्रसाद लिम्बूले बताए। ‘यो पुल बन्ला र गाउँलेलाई सजिलो होला भन्ने थियो। तर पटक पटक म्याद थप गर्दा पनि पुल बनेन,’ उनले भने, ‘पुल नहुँदा बालबालिकालाई विद्यालय जानै जोखिमपूर्ण भएको छ।’ पुल निर्माण गरिदिन आफूले सबै सरकारी निकायहरूमा पुगेर ध्यानाकर्षण गराएको बताए।
समयमा पुल नबन्दा बालबालिकाको शिक्षामा समेत प्रभाव परेको स्थानीय जरियाल टोल बस्ने नरबहादुर मगरले बताए । उनका अनुसार बर्खाको बेलामा बालबालिकालाई खोला तारेर विद्यालय पठाउनुपर्ने बाध्यता छ । बर्खाका बेला पानीको बहाव हेरेर विद्यालय पठाउने गरेको उनले बताए। ‘समयमा पुल बनिदिएको भए धेरै समस्याबाट मुक्त हुन्थ्यौँ,’ उनले भने । खोलाका कारण धरान–५ को जरेआहाल, निशान डाँडाका स्थानीयले उत्पादन गरेको सागसब्जी, दूधलगायत कृषि उपज धरान बजार ल्याउन नसकिरहेको मगरले बताए ।
कोसी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा एक वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन ४ गते १ करोड २१ लाख ८६ हजार ८ सय १३ रुपैयाँमा वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । त्यसयता पटक पटक म्याद थप भइसकेको छ।
स्थानीयवासीले विरोध जनाएपछि गत चैतमा प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले पुल निर्माणको कामको अनुगमन गरेका थिए। उनले तत्काल काम सक्न निर्देशन दिएका थिए। जसकारण ठेकेदार वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीका सञ्चालक पशुपति बरालले केही दिन काम पनि देखाए। तर त्यसयता फेरि काम ठप्प छ।
‘मन्त्रीको अनुगमनपछि केही दिन ठेकेदारले काम देखाए। अलिकति गिट्टी र बालुवा पनि झारिएको थियो,’ स्थानीय नरबहादुर मगरले भने, ‘अहिले त त्यही पनि वर्षाले बगायो। हामी लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका छौँ।’
भौतिक पूर्वाधार मन्त्री राईले उक्त पुल निर्माणको ठेक्दा रद्द गर्दा पनि निर्माण कम्पनीले स्टे-अर्डर दिएका कारण समस्या भएको बताए। ‘काम नगर्ने ठेकेदारलाई प्रश्रय हामीले पनि दिन खोजेको होइन। काम नगरेपछि ठेक्दा रद्ध गरेर धरौटी जफत गर्ने प्रक्रियामा अघि बढेको हो। तर अदालतले स्टे-अर्डरले रोकिदियो,’ उनले भने। उनले ठेकेदारले काम पूरा नगरे सरकारले अर्को ठेक्कामार्फत् यथासक्य चाँडो पुल निर्माण गर्ने बताए।

