

काठमाडौं : दशैँँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ।
राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो। विगतको दशैँँहरूमा नयाँ नोट सटहीको लागि सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो। नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ। असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रुपैयाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।

थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरूबाट सुकिला नोट वितरण भइरहेको छ। राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

यसअघि राष्ट्र बैंकले दशैँका लागी भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनको लागी भन्दै नयाँ नोटलाई बन्द गरेको हो। यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले झुत्रा, जलेका तथा दाबी नोटहरू भने दशैँँ पछाडि मात्रै वितरण गरिने जानकारी दिएको छ।


