Aamsanchar

राजनीतिक दलहरूले ल्याएका परिवर्तन र उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास भयो : कांग्रेस नेता प्रकाशमान सिंह

Author Image
बिहिवार, असोज २, २०८२

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका परिवर्तन र उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्। बिहीबार गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्राप्त भएका अधिकारहरूलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर जनताको चाहनाअनुसार काम गर्नु राजनीतिक दलहरूको जिम्मेवारी रहेको उल्लेख गरेका हुन्।

नेता सिंहले भने, ‘हाम्रो जिम्मेवारी प्राप्त अधिकारलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नु हो। अहिलेको जुन जेनजीको प्रदर्शन भयो, आन्दोलन भयो, तर विराटनगरमा कोइराला निवास जल्यो, काठमाडौँमा चाक्सीबारी जल्यो, कृष्णप्रसाद भट्टराईको आश्रम जल्यो, यसले के देखाएको छ भने जेनजीको आन्दोलनको आडमा दल र दलले गरेको योगदान केही होइन भनेर मेटाउन दुष्प्रयास भइरहेको छ। यसको राम्रोसँग छानबिन गरेर यो अलोकतान्त्रिक प्रक्रियामार्फत खेल्न खोज्नेहरूमाथि सरकार सतर्क हुनुपर्छ।’

उनले लोकतान्त्रिक पद्धतिमा जनताले चित्त नबुझाएका कुराहरूमा सुधार गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए। अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्ने उनको भनाइ छ। अहिलेको आन्दोलनले जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश दिएको पनि उनले बताए।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर