Aamsanchar

घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन बागमती खोलामा गएका एक किशोरको डुबेर मृत्यु

Author Image
मङ्गलवार, असोज ७, २०८२

रौतहट-  घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन बागमती खोलामा गएका एक किशोरको डुबेर मृत्यु भएको छ।

वृन्दावन नगरपालिका–३ विश्रामपुरका गजेन्द्र राय यादवका १३ वर्षीय छोरा रौशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पूजाका लागि गरिएको कलश शोभा यात्रामा सहभागी हुन बागमती खोलामा पुगेका थिए। नुहाउने क्रममा उनी खोलाको गहिरो खाडलमा परेपछि बेपत्ता भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर र सशस्त्र प्रहरी बल समनपुर क्याम्पबाट खटिएका टोली तथा स्थानीयवासीले व्यापक खोजी गरेका थिए। तर सोमबार बेलुकीसम्म यादवको अत्तोपत्तो लागेको थिएन।

मंगलबार दिउँसो भने उनको शव गढीमाई नगरपालिका स्थित समनपुर पुलभन्दा करिब एक किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ। सोमबार वृन्दावन नगरपालिका वडा नं-१ रमौली घाटबाट हराएका यादवलाई धरमपुर घाटसम्म समेत खोज्दा पत्ता लाग्न सकेको थिएन।

अचानक घटेको दुर्घटनाले विश्रामपुर गाउँ शोकमा डुबेको छ। वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख रामसेही यादवले दुर्गा पूजाको अवसरमा परेको यो दुःखद घटनाले समुदायलाई स्तब्ध बनाएको बताएका छन्।

 

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर