Aamsanchar

लिम्बू मातृभाषाको पाठ्यक्रम निर्माण सुरु

Author Image
आइतवार, असार ५, २०७३

limbu vasa

 

पाँचथर ।

लिम्बू मातृभाषामा आधारभूत तह कक्षा ६–८ को पाठ्यक्रम निर्माण समितिले निर्माणको काम सुरुआत गरेको छ ।

पाँचथरका लिम्बू भाषाविद्, पाठ्यक्रमविद् तथा शैक्षिक अभियानकर्मीका पहलमा निर्माण हुन लागेको पाठ्यक्रमको महत्वपूर्ण चरण आवश्यकताको पहिचानका विषयमा निर्माण समितिले छलफल गरेको छ ।
छलफलमा जिल्लाका लिम्बू भाषाविद्, पाठ्यक्रमविद्, भाषासेवी तथा मातृभाषामा शिक्षा अभियानकर्मी तथा सरोकार भएकाहरुले पाठ्यक्रम निर्माणमा लिम्बू भाषा, कला, संस्कृति, ‘मुन्धम’ आदिलाई समेटिनुपर्नेमा जोड दिँदै पाठ्यक्रम समय सान्दार्भिक र विद्यार्थी केन्द्रित बनाउनुपर्ने सुझाव दिनुभयो ।
छलफलमा पाठ्यक्रमविद् तथा भाषाविद् समेत रहनुभएका निर्माण समितिका संयोजक हरिचन्द्र लावतीले चार खण्डमा पाठ्यक्रम निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

भाषाविद् तेजमान आङ्देम्बेले लिम्बू भाषामा आधारभूत तह कक्षा ६–८ को पाठ्यक्रम निर्माण गरेर पठनपाठन गरिनुपर्ने बताउनुभयो ।

भाषाविद् दिलेन्द्र कुरुम्बाङ, मलिसा याक्थुङ्बा, राजेन्द्रकुमार जबेगू, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शालिकराम काफ्ले, स्रोतव्यक्ति गजाधर ढुङ्गाना, नेपाल शिक्षक युनियनका अध्यक्ष रुपनारायण जबेगू, शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गोपालप्रकाश ढुङ्गाना, शिक्षक डिगध्वज लावती, पत्रकार विजयबोध लावती, नेता अग्निप्रसाद तुम्बापो, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष नरेन्द्रराज केरुङ, ‘मुन्धुम’ अभियानकर्मी सुवास तुम्बापो, विद्यार्थी मधु केरुङ लगायतले पाठ्यक्रम वैज्ञानिक हुनुपर्नेमा जोड दिनुभयो ।
निर्माण समितिका सदस्य तथा लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अबोध अविरल आङ्बुहाङले बर्से बिदापछि पठनपाठन हुने गरी पाठ्यक्रम निर्माणको काम सुरु गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)