इलाम ,
एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले स्थानीय तह निर्वाचनमा बुधबार मतदान गरेका छन्।
इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रमा उनीहरुले मतदान गरेका हुन्। एमाले नेता नेम्वाङले बालमन्दिरको ‘ख’ मतदान केन्द्रमा मतदान सुरु भएको केही समयपछि मतदान गरेका हुन्। नेम्वाङले करिब साढे सात बजेतिर मतदान गरेका थिए।
कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले बालमन्दिरकै ‘क’ केन्द्रमा मतदान गरेका छन्। नेम्वाङ बाहिरिए लगत्तै गुरुङ मतदान गर्न गएका थिए। मतदानपछि नेम्वाङले संविधानको ठोस कार्यान्वयन सुरु भएको प्रतिक्रिया दिए। मतदानपछि पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले भने “संविधान कार्यान्वयनको सिलसिलामा ऐतिहासिक कार्य सम्पन्न भयो भन्ने मलाई महसुस भएको छ।”
स्थानीय तहको निर्वाचनले जनतालाई सबल बनाएको नेम्वाङको भनाइ छ। “तराई मधेसदेखि हिमाल पहाडसम्मका जनता इतिहासमा नै यति धेरै अधिकार सम्पन्न भएका छन्”, उनले भने “गाउँघरको विकास गर्ने अधिकार हाम्रो आफ्नो हातमा आएको छ, यो साँच्चिकै ऐतिहासिक कार्य भएको छ।”
नेम्वाङले लगत्तै तीनै तहको निर्वाचन गर्नका लागि सरकारले तयारी नगरेको आरोप लगाए। प्रदेश र सङ्घको निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने कामहरू नगरेकाले माघ ७ गते भित्रमा तीन नै तहको निर्वाचन सम्पन्न हुनेमा प्रश्न उठेको बताए।
यसैगरी, नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले संविधानले दिएको समय सीमा भित्रमा निर्वाचन हुँदैन कि भन्ने कल्पनासमेत नगर्न आग्रह गरेका छन्।