Aamsanchar

मध्य असारमा खेत बाझैं, ५ प्रतिशतमात्र रोपाइ

Author Image
शनिवार, असार १७, २०७४

नरेन्द्र ढकाल
बिर्तामोड । असार १६ बितिसक्दा समेत झापामा रोपाइँ शुरु हुन सकेको छैन । गत वर्षहरुमा यो समयमा १२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।
यसपटक पर्याप्त वर्षा नहुँदा रोपाइँ शुरु हुन नसकेको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले बताए । उनका अनुसार हालसम्म झापामा ५ प्रतिशत मात्र रोपाइँ भएको छ ।
झापामा ९० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गरेको छ । १९ हजार ५ सय हेक्टर क्षेत्र फलमा चैते धान रोपाइँ हुने गरेको बताइएको छ । असारको दोस्रो साता बितिसक्दा समेत झापामा ५ प्रतिशत मात्र रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि अधिकृत डाँगीले बताए । उनले भने– ‘यसपटक पानी बेलैमा परेन, त्यसैले रोपाइँ ढिलो भएको हो ।’ उनले झापामा रासायनिक मलको अभाव नभएको बताए । झापाका ९० हजार हेक्टर क्षेत्रमा यतिबेला धान रोपाइँ सम्पन्न हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डाँगीले जानकारी दिए ।
उनका अनुसार झापामा ३८ हजार ७ सय ४० हेक्टर क्षेत्र सिञ्चित, १२ हजार ८४ हेक्टर अर्ध सिञ्चित र बाँकी आकाशे पानीको भरमा रोपाइँ हुने गरेको छ  । धानको पकेट क्षेत्र मानिने झापामा वार्षिक दुई सिजनमा धान रोपाइँ हुने गरेको छ । चैते धान एक लाख ५ हजार टन र वर्षे ३ लाख ५७ हजार ५ सय ४० टन धान उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
झापामा विशेषगरी रञ्जीत, राधा–१२, सुख्खा १ र ३, मनसुली लगायतका धान रोप्ने गरिएको जिल्ला कृषि विकास कार्यालयकी सूचना अधिकारी शितल भट्टराईले जानकारी दिइन् । उनका अनुसार झापामा करिब आधा दर्जन धान रोप्ने मेसिनबाट धान रोपाइँ हुन्छ ।
धान उत्पादनमा खासै गिरावट नआएको बताउँदै किसानले उन्नत जातको धानको रोप्न थालेकाले उत्पादकत्वमा कमी नआउने बताएका छन् । मनसुन जारी रहेमा साउन १५ सम्ममा शतप्रतिशत रोपाइँ सम्पन्न हुने उनको भनाइ छ । झापामा भदौको पहिलो सातासम्म धान रोपाइँ गर्नसकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
खेतीयोग्य जमिन प्लटिङका कारण घट्दै गए पनि धान उत्पादन भने नघटेको उनको भनाइ छ । चैते धानको उत्पादकत्व नघटेको र वर्षे धानको पनि उत्पादकत्व नघट्ने उनको दावी छ । उनले धानको उत्पादकत्व बढाउन सरकार लागीपरेको बताए । किसानले उत्पादन गरेको चैते धानको उचित मूल्य नपाउँदा किसान निरास भएको भन्दै देशभित्रै उत्पादन भएका वस्तुलाई बजारीकरण गर्नुपर्ने कृषि विकास कार्यालय झापाका प्रमुख डाँगीले बताए । नेपालमा करिब ९० अर्ब रूपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ । कूल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिञ्चाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ ।
उन्नत जातको बीऊको प्रयोग निकै कम हुनु, समयमा रासायनिक मल उपलब्ध नहुनु, अधिकांश कृषकहरू परम्परागत खेतीमै निर्भर रहनुले पनि धानको उत्पादनमा बृद्धि हुन नसकेको विज्ञहरूको भनाइ छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर