झापा / झापाको बिर्तामोड नगरपालिकामा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार ध्रुवकुमार शिवाकोटी र उपप्रमुखमा एमालेकै पवित्रा महतारा प्रसाईं विजयी हुनुभएको छ ।
केहीबेर अघि घोषित मतगणनाको अन्तिम परिणामअनुसार बिर्तामोडको प्रमुखमा विजयी शिवाकोटीले ९ हजार १ सय १० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका जलकुमार गुरुङले ८ हजार २ सय १७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै विजयी उपप्रमुख प्रसाईंले १० हजार ४सय ३७ र निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी पार्वता गिरीले ९ हजार ११ मत प्राप्त गर्नुभयो ।
त्यस्तै झापाकै पुरानो नगरपालिका भद्रपुरमा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा एमालेकै चन्द्रा श्रेष्ठ विजयी हुनुभएको छ ।
भद्रपुरको प्रमुखमा विजयी श्रेष्ठले ११ हजार ४२ मत प्राप्त गर्नुभयो । गएराति घोषित अन्तिम परिणाम अनुसार उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २ सय १५ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६सय ५० र निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी तारा भुर्तेलले छ हजार ४ सय ९८ मत प्राप्त गर्नुभयो ।


