Aamsanchar

भत्ता नपाएको भन्दै शिक्षकले नगरपालिकामा बुझाए ध्यानाकर्षण पत्र

Author Image
सोमवार, मंसिर ८, २०८२

पाँचथर-  नेपाल शिक्षक महासंघले शिक्षक हरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् ।

फिदिम नगरपालिकामा महासंघका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनु भएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण वुझाइएको महासंघले जनाएको छ ।

महासंघले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जारी गरेको स्थानीय तहबाट कार्यान्वयन हुने सशर्त अनुदान सम्बन्धी कार्यविधिमा शिक्षकलाई स्थानीय भत्ता पाउने स्पष्ट व्यवस्था भएपनि पाँचथरमा सो सुविधा नआएको भन्दै रोष प्रकट गर्दै आएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर समितिका अध्यक्ष तथा महासंघ पदेन सदस्य रामप्रसाद बाँस्कोटाका अनुसार पाँचथर ‘घ’ वर्गमा पर्ने स्थानीय भत्ता पाउँने क्षेत्र भए पनि फिदिम नगरपालिकाले अहिलेसम्म भत्ता नदिएको कारण यथार्थ बुझी तत्काल कार्यान्वयन गर्न माग गरिएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहालले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरसँग थप स्पष्टिकरण माग्दै पत्र पठाइ सकिएको जानकारी गराउनु भयो । ध्यानाकर्षण पत्र बुझाउने क्रममा महासंघ फिदिमका अध्यक्ष हरिकृष्ण मिश्र सहित नगर समिति, महासंघ पाँचथरका सहसचिव जीवन भण्डारी तथा विभिन्न शिक्षक संघ–संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर