

झापा- जिल्लाका चिम्नी इँटा उद्योगहरूमा काम गर्न भारतीय अस्थायी प्रवासी मजदुर परिवारसहित ठूलो संख्यामा नेपाल प्रवेश गरिरहेका छन्। तर उनीहरूको यकिन तथ्यांक नहुँदा सुरक्षा निकाय समस्यामा परेका छन्। यसै कारण बंगलादेशी र रोहिंग्या नागरिक पनि मजदुरको रूपमा छिर्न सक्ने जोखिम बढेको सुरक्षा निकायको आकलन छ।

पश्चिम बंगाल हुँदै अवैध रूपमा बंगलादेशी तथा रोहिंग्या नागरिक नेपाल प्रवेश गर्न सक्ने संकेतपछि सशस्त्र प्रहरीले भद्रपुर र काँकडभिट्टा नाकामा सतर्कता कडा पारेको छ। यद्यपि, इँटाभट्टामा सिधै बस रिजर्भ गरेर पुगेका भारतीय मजदुरको परिचयपत्र र विवरण जाँच नहुँदा समस्या उत्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नम्बर २ गण, झापाका एसपी तुलबहादुर भण्डारीका अनुसार हाल अस्थायी प्रवासी मजदुरहरू र उनीहरूका परिवारको विस्तृत विवरण संकलन भइरहेको छ। मजदुरको परिचयपत्र भारतीय नै भए पनि यकिन तथ्यांक नहुँदा पहिचान चुनौतीपूर्ण बनेको बताइन्छ।


जिल्लामा २४ वटा चिम्नी इँटा उद्योग सञ्चालनमा छन्। अधिकांश मजदुर पश्चिम बंगालको कोचविहार र माथाभांगा क्षेत्रबाट आउने गरेको झापा इँटा उद्योग संघका सचिव विष्णुप्रसाद घिमिरे बताउँछन्। केही उद्योगले मजदुरका कागजात अपडेट गरेको भए पनि धेरै उद्योगमा त्यो प्रक्रिया व्यवस्थित छैन।
एक इँटाभट्टामा ५० देखि २०० जनासम्म मजदुर—बालबालिकासहित—काम गर्न आउने गरेका छन्। मुस्लिम समुदायका बंगाली भाषा बोल्ने मजदुरहरू प्रायः मंसिरदेखि चैतसम्म झापामा बसोबास गर्छन्।
यता भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको विशेष पुनरीक्षण सुरु गरेपछि वर्षौंदेखि अवैध रूपमा बस्दै आएका बंगलादेशी तथा रोहिंग्या नागरिकबीच सुरक्षा कडिनेसँगै त्रास पैदा भएको छ। पुराना कागजात प्रस्तुत गर्न नसक्ने भएकाले उनीहरू भारत छाडेर बाहिरिन थालेको भारतीय स्रोतको भनाइ छ।

