
काठमाडौं । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले भोलि असार २७ गते नेपाल बन्दको आव्हान गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गरी उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, यातायात सबै बन्द गर्न आव्हान गरेका हुन् ।

स्थानीय तह निर्वाचनका क्रममा सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै नेकपाले नेपाल बन्दको आव्हान गरेको हो । नेकपाका दाङ जिल्ला सेक्रेटरी सविनले पनि विज्ञप्ति जारी गरी असार २७ गते केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सुमन लिम्बुलाई बिनाकारण गिरफ्तार गरी अहिलेसम्म पनि रिहाई नगरिएको बरु झुट्टा मुद्दामा फसाउने प्रपन्च रचिएको र अरु कैयौं कार्यकर्ता र समर्थकहरुलाइ कथित चुनाव सकिदा समेत हिरासतमुक्त नगरेको हुनाले बिनाकारण जेल हिरासतमा राखिएका नेताकार्यकर्ताको रिहाइको माग गर्दै नेपाल बन्द आव्हान गर्नुपरेको उल्लेख गरेका छन् ।
जिल्ला सेक्रेटरी सविनको विज्ञप्तिमा एकीकृत जनजागरण तथा प्रतिरोध अभियान शान्तिपूर्ण तरिकाले चलिरहेको बेला देउवा–प्रचण्ड मण्डली सरकारको जनार्दन गृहप्रशासनले पार्टीका केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सुमन लिम्बुलाई बिनाकारण गिरफ्तार गरी अहिलेसम्म पनि रिहाइ नगरेको उल्लेख गरेका छन् । गिरफतार नेताहरुलाई झुठा मुद्दामा फसाउने प्रपन्च रचिएको जनाइएको छ । विज्ञप्तिमा आन्दोलनमा ऐक्यबद्धता जनाइदिन दाङवासी सम्पूर्ण जनसमुदायमा आव्हान पनि गरिएको छ ।


