

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री नभई प्राज्ञिक व्यक्ति हुने व्यवस्था गर्न लागेको बताएकी छिन्।

बुधवार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरण अन्त्य गर्न सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन लागेको बताइन्।

उक्त विश्वविद्यालयकी कुलपति रहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विश्वविद्यालयहरूका कुलपति, उपकुलपति र अन्य सरोकारवालाहरूसँग गम्भीर परामर्श गरिरहेको जानकारी दिइन्। नेपालको उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार यसो गरेको प्रधानमन्त्री कार्कीको भनाइ थियो।


कार्कीले भनिन्, ‘ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्न लागेका छौँ। यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्ने विश्वास छ।’
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौँ विश्वविद्यालयको खेलेको भूमिकाको प्रशंसा गर्दै त्यसको अनुसरण गर्दै अघि बढ्न अन्य विश्वविद्यालयलाई आग्रह गरिन्।

