Aamsanchar

अन्धुवा खोलामा ढल र ट्वाइलेटको पाइप मिसाउनेलाई अब तत्काल कारवाही : प्रमुख शिवाकोटी

Author Image
शुक्रवार, असार ३०, २०७४

बिर्तामोड।

बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले अन्धुवा खोलामा ढल र ट्वाइलेटको पाइप मिसाउनेलाई तत्काल कारवाही गर्ने बताएका छन् ।
बिर्तामोड नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितिको बिस्तारित बैठकमा बोल्दै प्रमुख शिवाकोटीले त्यस्तो बताएका हुन् । खोला किनारका अधिकांश घर तथा होटल सञ्चालकहरुले ढल र ट्वाइलेटको पाइप खोलामा मिसाएर प्रदुषित बनाएको गुनासो आएको बताउँदै शिवाकोटीले अब त्यस्तो गर्नेलाई तत्काल कारवाही गर्ने बताए ।
अन्धुवा खोलामा ट्वाइलेट र ढलको पाइप मिसाउने घर धनीको लगत संकलन गरेर तत्काल नगरपालिकामा उपलब्ध गराउन प्रमुख शिवाकोटीले मानव विकास केन्द्रलाई निर्देशन दिएका छन् । उक्त संस्थाले बिर्तामोडमा सरसफाईका लागि युएनह्याविट्याटको सहयोगमा सहजीकरण गर्दै आएको छ ।
उक्त अवसरमा नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितिको अध्यक्षको रुपमा प्रमुख शिवाकोटी उपाध्यक्षको रुपमा उपप्रमुख पवित्रा महतारा र सदस्यको रुपमा वडाध्यक्षहरुलाई स्वागत समेत गरिएको थियो । जनप्रतिनिधि नभएको अवस्थामा यसअघि समितिको अध्यक्षता नगरका कार्यकारी अधिकृतले गर्दै आएका थिए ।
आगामी भदौसम्ममा बिर्तामोडलाई खुल्ला दिसामुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ समितिले काम गरिरहेको बताइएको छ । अहिले बिर्तामोड नगरपालिकाभित्र १ हजार ५ सय ७४ घर शौचालयविहीन रहेको बताइएको छ । जनचेतना र सबै परिवारको पहुँचमा सुरक्षित शौचालय निर्माण अभियानका लागि बिर्तामोडमा मानव विकास केन्द्र र सहारा नेपालले सहजीकरण गरिरहेका छन् ।
साविक बिर्तामोडमा ९ सय ३१ घरमा शौचालय नभएको पाइएको मानव विकास केन्द्रका भरत कुसवाहले जानकारी दिए । त्यस्तै साविक गरामनीमा ६ सय ४३ घरमा शौचालय नभएको पाइएको सहारा नेपालका किशन गौतमले जानकारी दिए । गौतमका अनुसार ५ हजार ४ सय ५६ घरधुरी रहेको साविक गरामनीका १ हजार ६८ परिवार भने कच्ची शौचालय प्रयोग गरिरहेका छन् । युएनह्याविट्याटका जिल्ला संयोजक विनोद शर्माले बिर्तामोडलाई सरसफाईयुक्त सहर र सबै परिवारको पहुँचमा सुरक्षित शौचालय पुर्याउन अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, बिर्तामोडका वडाध्यक्षहरु अग्नी पाण्डे, नगेन्द्र संग्रौला, राजेन्द्र लिङ्देन, गंगाप्रसाद भट्टराई, पवित्रा पाठक, वडा सचिव मेघराज बाँस्तोला तथा डम्बर देउजा, सोम पोर्तेल लगायतले विभिन्न सुझाव राखेका थिए । बिर्तामोडलाई पूर्ण सरसफाई भएको सहर बनाउन पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुनु, खोलामा ढल र ट्वाइलेटको पाइप मिसाइनु, घरमा शौचालय नभएका कारण खुलारुपमा शौच गर्नु जस्ता मुख्य चुनौति रहेको बताइएको छ ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर