Aamsanchar

माटो परीक्षण बिनै खेती, बजारमा छैन कृषि चुन

Author Image
शनिवार, असार ३१, २०७४

[सुरेन्द्र भण्डारी]
बिर्तामोड।

माटो परीक्षणका लागि मेची अञ्चलका कृषकलाई लक्षित गरेर सरकारले झापाको सुरुङ्गामा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
२०५८ सालबाट नेपाल सरकार, कृषि विकास मन्त्रालय, कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले प्रयोगशाला सञ्चालनमा ल्याएको हो । प्रयोगशाला सञ्चालनमा आएको झण्डै दुई दशक बित्न लागेको छ । तर, सरकारको लक्ष्य अनुरुप यहाँका कृषकले माटो परीक्षण गराएका छैनन् ।
गत वर्ष सरकारले कार्यालयमा आएका कृषक मध्ये २ सय ४७ ठाउँको माटोको परीक्षण गर्दै नमूना पठाउन भनेको थियो । तर, उक्त लक्ष्य पु¥याउन कार्यालयलाई मुस्किल प¥यो । वर्षभरिमा दुई सय पनि कृषक नआएपछि यो वर्ष लक्ष्य घटेर दुई सयमा झरेको छ । सो लक्ष्य पु¥याउन पनि शिविर गर्नुपर्ने कार्यालयलाई बाध्यता बन्यो । जिल्लाका विभिन्न स्थानमा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गरेर तोकिएको लक्ष्य पु¥याउने गरेको कार्यालयकी प्राविधिक सहायक सीता खरेलले बताइन् ।
चेतनाको अभाव र माटो परीक्षणपछि पनि कृषकले कृषि चुन प्रयोग गर्न नपाएका कारण माटो परीक्षण गर्न कृषक नआउने गरेको कार्यालय प्रमुख हरिबहादुर भुजेलको भनाइ छ । पर्याप्त मात्रामा बजारमा कृषि चुन नपाइनुले पनि कृषकमा निरासा छ– उनले भने– ‘माटो परीक्षण हामी गरिदिन्छौं, माटोको अवस्था हेरेर कृषि चुन प्रयोग गर्न सल्लाह पनि दिन्छौं, वजारमा कृषि चुन नपाएपछि किसान खाली हात फर्कनुपर्ने बाध्यता छ ।’
व्यावसायिक खेती गर्ने र चिया खेती गर्ने किसानले मात्र माटो परीक्षण गर्ने गरेको कार्यालय प्रमुख भूजेलको भनाइ छ । माटोमा पाइने छ वटा पदार्थ उचित मात्रामा भयो भने उक्त माटोमा उत्पादन दर उच्च हुने गर्दछ । उत्पादन बढाउन माटो राम्रो हुनुपर्छ, माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ उपयुक्त मात्रामा हुनुपर्छ ।
तर, झापा र इलामका किसानमा अझै पनि माटोको परीक्षण गरी अपुग पदार्थ हालेर खेती गर्नुपर्छ भन्ने चेतना आउन नसकेको भूजेलले बताए ।
यस वर्ष कार्यालयले झापाका ९ स्थानमा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । शिविरबाट ८०७ नमूना परीक्षण गर्दा माटोमा ४६ प्रतिशत अम्लियपन, ४७ प्रतिशत हल्का अम्लियपन र ७ प्रतिशत तथष्ट नजिक पाइएको कार्यालय प्रमुख भूजेलले बताए ।
त्यस्तै इलामका दुई स्थानमा पनि शिविर सञ्चालन गरिएको बताइएको छ । इलाम र सूर्योदय नगरपालिकामा माटो परीक्षण गर्दा १४ प्रतिशत अम्लियपन, ८० प्रतिशत हल्का अम्लिय र ६ प्रतिशत तथष्ट नजिक पाइएको भूजेलले बताए ।
झापामा यस वर्ष कनकाई नगरपालिका सहित शरणामती, दमकका दुई स्थान, धरमपुर, दुवागढी, शान्तिनगर, र टाघनडुब्बाका दुई स्थानमा शिविर सञ्चालन भएका छन् । यस वाहेक कार्यालयमा मुस्किलले दुई सय वटा ठाउँको माटाको नमूना लिइएको कार्यालयकी प्राविधिक सहायक खरेलले बताइन् ।
सरकारले दिएको लक्ष्य प्राप्त गर्न नसकेपछि कर्मचारी विभिन्न कृष क समूहसँग सहकार्य गर्दै शिविर सञ्चालन गर्न बाध्य छन् । टाठावाठाले मात्र शिविरमा माटो परीक्षण गराउने गरेका छन् भने लक्षित समुदाय अझै पनि माटो परीक्षण गराएर मात्र खेतीपाती गर्नुपर्छ भन्ने अवस्थामा पुग्न सकेका छैनन् ।
गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्राङ्गारिक पदार्थ दुईदेखि ५ प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्छ । खेती गर्नका लागि ६.५देखि ७.५ पीएच भएको माटो मात्रै उपयुक्त हुन्छ । माटो परीक्षण गराउँदा ७.५ भन्दामाथि पीएच भेटिए त्यस्तो माटोमा क्षारीयपन बढी हुने र खेतीका लागि अनुपयुक्त हुने खरेलको भनाइ छ ।
माटो बिग्रने कारण
माटो बिग्रनुमा प्रमुख कारण रासायनिक मल र विषादिको अत्यधिक प्रयोग नै भएको नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग माटो व्यवस्थापन निर्देशनालय सुरुङ्गाका प्रमुख भूजेलको भनाइ छ ।
झापा र इलाममा माटोमा पाइने पीएच घट्दै गएको छ भने क्षारीयपन बढ्दै गएको छ । बालीलाई चाहिने आवश्यक तत्व दिनप्रतिदिन माटोमा मर्दै गएका कारण यहाँको माटोमा क्षारीयपन बढ्दै गएको छ । कृषकले खेतमा हाल्नुपर्ने गोबर गुइँठा बनाएर बाल्ने र खेतमा खरानी हाल्ने प्रवृत्ति बढेकाले पनि माटो बिगारेको छ । तत्काल बढी उत्पादन लिने लोभले कृषकले बर्षेनि रासायनिक मल र विषादि अत्यधिक प्रयोग गर्दै आएका छन् ।
माटोलाई मर्न नदिन र उत्पादन बढाउन रासायनिक मलको प्रयोग घटाउने, प्राङ्गारिक मलको प्रयोग बढाउने, गड्यौँला मल, फोहोर व्यवस्थापनबाट घरमै तयार हुनसक्ने कम्पोष्ट मल उत्पादन गर्ने, मलखाद र खेतबारीमा स्याउलाको प्रयोग बढाउने, भकारो व्यवस्थित गर्ने, नियमित रूपमा माटोको परीक्षण र परामर्श लिने काम गर्न कृषकलाई भूजेलले आग्रह गरे ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर