Aamsanchar

समाजसेवी कृष्णकुमारीको स्मृतिमा पत्रकार उपचार कोषलाई एक लाख १ सय १ रुपैयाँ प्रदान

Author Image
शनिवार, असार ३१, २०७४

बिर्तामोड।


समाजसेवी कृष्णकुमारी पोखरेलको ८६औं जन्मजयन्तीको अवसर पारी उनका छोराबुहारी राजकुमार पोखरेल र मीना पोखरेलले पत्रकार सहारा उपचार कोषका लागि एक लाख १ सय १ रुपैयाँ प्रदान गरेका छन् ।
पोखरेल दम्पत्तिले आमा कृष्णकुमारीको स्मृतिमा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई आज शनिवार उक्त रकम प्रदान गरेका हुन् ।
रकम हस्तान्तरण समारोहमा कृष्णकुमारीले आफ्नो मात्रै माता नभएर बिर्तामोडवासीकै अभिभावक र माताको रुपमा भूमिका निर्वाह गरेको राजकुमारले स्मरण गराए । माताको जन्मजयन्तीको अवसर पारी पुनित कर्म गर्ने र समाजमा योगदान पु¥याउन पत्रकार उपचार कोषमा सहयोग हस्तान्तरण गरिएको बताउँदै कोषको सही सदुपयोग गर्न समेत उनले सुझाव दिए । महासंघका अध्यक्ष सापकोटाले कोषमा सहयोग गरेकोमा पोखरेल परिवारप्रति धन्यवाद ज्ञापन गरे ।
महासंघले एक करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हालसम्म २७ लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको कोषका संयोजक गिरीले बताए । कोषमा सहयोग जुटने क्रम जारी रहेको कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए ।
१९८४ साउन १ गते जन्मिएकी कृष्णकुमारीको २०७२ साउन २७ गते स्वर्गारोहण भएको थियो । गरीब, असहायलाई सहयोग गरी उदाहरणीय भूमिका निर्वाह गर्दै आएकी कृष्णकुमारीले बिर्तामोडको अतिथि सदन भवनको शिलान्यास समेत गरेकी थिइन् । अतिथि सदनको एउटा कोठा ससुरा त्रिलोचन पोखरेल र पति शेरबहादुर पोखरेलको स्मृतिमा उनले निर्माण गरिदिएकी थिइन् ।
बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको जग्गा कृष्णकुमारीले दान गरेकी थिइन् भने उनले अनारमनी पब्लिक क्याम्पस निर्माण लगायत विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य सहयोग प्रदान गरेकी थिइन् । कृष्णकुमारीले पूर्वको प्रसिद्ध अर्जुनधारा जलेश्वर धामको समेत शिलान्यास गरेकी थिइन् । गरीब असहायहरुलाई गरेको सहयोग र समाजसेवीमा उनले निर्वाह गरेको भूमिकाकै कारण ‘बिर्तामोडकी आमा’ को रुपमा समेत उनी परिचित थिइन् ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर