Aamsanchar

छोटी भन्सार गोठमा परिणत

Author Image
आइतवार, साउन १, २०७४

घेरावारी।

छोटी भन्सार कार्यालय स्थापनाका लागि दक्षिणी झापाको साविक घेरावारी–३ कुटी हाल कचनकवल गाउँपालिका–१ निवासी चरणलाल यादवले दुई कठ्ठा जग्गादान गरेका थिए ।
सोही जग्गामा निर्माण गरिएको छोटी भन्सार कार्यालय अहिले गोठमा परिणत भएको छ । झण्डै वीस वर्ष अघिदेखि त्यस ठाउँमा छोटी भन्सार कार्यालय सञ्चालनमा आउन नसक्दा कार्यालय गोठमा परिणत भएको स्थानीय बझारुलाल राजवंशीले बताए । उनले भने– ‘द्वन्द्वकालका समयमा बन्द भएको भन्सार कार्यालय सुचारु नहुँदा यस क्षेत्रका सर्वसाधारण प्रत्यक्ष मर्कामा परेका छन् ।’
भारतको कदुभिट्टा, सुरिभिट्टा तथा दिघलवैंकबाट आयात गरिने सामग्री सोही नाका भएर नेपाल भित्रिन्छ । त्यस्तै नेपालबाट पशु चौपाया पनि सोही नाका भएर भारत निर्यात हुने गरेको छ । त्यस नाका भएर सबैभन्दा बढी अहिले हार्डवेयरका सामग्री नेपाल भित्रिने गरेको स्थानीयवासीले बताएका छन् । तत्कालीन भन्सार कर्मचारी पिताम्वर मुखियाको पहलमा दाताले उपलब्ध गराएको जमिनमा भवन निर्माण गरिएको स्थानीय हरनलाल यादवले बताए । भन्सार हुँदा चोरी तस्करी नियन्त्रित थियो– उनले भने– ‘अहिले प्रहरीलाई यो नाका कमाई खाने भाँडो जस्तै भएको छ ।’ डाकाले राति लुट्थे, अहिले प्रहरीले नजानिँदो पाराले दिउँसै लुट्छन्– यादवले थपे– ‘भन्सार बस्ने हो भने राज्यको लागि दुई रुपैयाँ पनि राजश्व संकलन हुन्थ्यो ।’
सशस्त्र द्वन्द्वकाल अघि चल्तीको नाका भएर पनि राज्यले नै उपेक्षा गरेका कारण यस क्षेत्रबाट अहिले चोरी पैठारी मौलाएको यादवको भनाइ छ । उनले बिगत सम्झँदै भने– कारोवार नभएको दिन पनि २० हजार भन्दा माथि यस नाकाबाट कारोवार हुन्थ्यो, कारोवार हुँदा लाख भन्दा माथि राजश्व संकलन हुने ठाउँ राज्यकै उपेक्षामा प¥यो ।’
भरतीय सावारी साधन खुलेआम भित्रिँदा पनि कुन सवारी कुन समयमा भित्रियो र उक्त सवारीले के सामान नेपाल भित्र्याएको छ, त्यो न प्रहरीले हेर्छ न त राज्यको कुनै निकायले त्यसको निगरानी गर्छ – यादवले भने– भन्सार भएको भए केही मात्रामा भए पनि सवारी चेकजाँच हुने थियो ।
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि निर्वाचित भए लगत्तै त्यस क्षेत्रका स्थानीयवासीले छोटी भन्सार कार्यालय स्थापनाको माग गरेका छन् । राज्यलाई केही मात्रामा भए पनि आम्दानी दिलाउन र सामान आयातमा पनि आफूहरुलाई सहज हुने भन्दै उनीहरुले छोटी भन्सार कार्यालय स्थापनाको माग गरेका हुन् ।
घेराबारीमा बन्द अवस्थामा रहेको छोटी भन्सार कार्यालय उदाहरण मात्रै हो । उक्त छोटी भन्सार कार्यालयको जस्तै अबस्था छ, झापा गाउँपालिकामा रहेको छोटी भन्सारको पनि । भारतको दिघलवैंक नजिकै रहेको सो भन्सार कार्यालयमा पनि कर्मचारी बस्दैनन् ।
भन्सार कर्मचारी नबस्दा सो कार्यालय पनि गोठमा परिणत भएको छ । मेची भन्सार कार्यालयले उक्त छोटी भन्सार कार्यालय चालू अवस्थामा रहेको जनाए पनि त्यहाँ कार्यरत कर्मचारी महिना दिनमा एक दिन मात्रै आउने गरेको स्थानीयवासीले बताएका छन् । महिनामा एक दिन आउने कर्मचारीले महिनाभरिको उपस्थिति देखाएर जान्छन्– स्थानीय छवि पौडेलले भने– भन्सार कार्यालयले सेवाग्राही नआएको भन्छ तर यहाँका सेवाग्राही सेवा लिन नपाएर हैरान छन् ।’
घरायसी प्रयोजनका लागि पाँच केजी दाल र दुई केजी चिनी बोकेर आउँदा पनि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले रकम उठाउँछन्– अर्का स्थानीयवासी गरमपति गणेशले भने– ‘प्रहरीलाई घुस खुवाउनु भन्दा भन्सार गरेर सामान किन्न जितिन्छ ।’
प्रहरीको मुड हेरेर घरायसी सामग्री किन्न जानुपर्छ– उनले भने– ‘भन्सारको अगाडि बसेको सशस्त्र प्रहरीलाई घुस दिएन भने सामान समात्छ, समातेको सामान फिर्ता हुन्छ हँुदैन त्यस्को अत्तोपत्तो नै छैन ।’ झापा नाका हुँदै अहिले मोटरपार्ट, हाडवेयरका सामग्री, लत्ता कपडा, सहित लागूऔषध भित्रिने गरेको बताइएको छ । झापा नाका भएर सवैभन्दा बढी चरेस भित्रिने गरेको सशस्त्र प्रहरी स्रोतकै दावी छ । ड्युटीमा रहेका आफूहरुलाई केही सूचना आए पनि आफूखुशी समात्न मिल्दैन, आफूभन्दामाथि सोध्नै पर्छ, सोध्यो भने ए हो र ! भन्दै अन्तै ड्युटी खटाइदिन्छन्– नाम नबताउने शर्तमा एक सशस्त्र प्रहरीले भने ।
निर्वाचनको समयमा दिघलवैंकबाट सबैभन्दा बढी चरेस नेपाल भित्रिएको उनले बताए । निर्वाचनको समयमा नेपालबाट पशु चौपाया निकासी नभए पनि चरेसको लाइन खुब चल्यो– उनले भने– ‘प्रहरी कमाण्डमा मानेन भने विभागीय कारवाही हुन्छ, न हाम्रो कुरा कसैले सुन्छ न त हामी केही गर्न सक्छौं, त्यही भएर पनि आदेश नपाएपछि देखेपनि नदेखेझैं गर्न बाध्य छौं ।’
झापाको काँकरभिट्टा र भद्रपुरको छोटी भन्सार कार्यालयको नाकामा कडाइ हुँदा बन्द अवस्थामा रहेका नाकामा बढी चहलपहल हुने गरेको छ । मेची भन्सार कार्यालय नेपालको पूर्वी नाका मेची अञ्चलको झापा जिल्ला मेचीनगर नगरपालिका काँकरभिट्टामा रहेको छ ।
यस भन्सार कार्यालयको मातहतमा १२ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन् । गाडागल्ली, बाहुनडाँगी, नकलवन्दा, सतिघट्टा, भद्रपुर, पाठामारी, घेरावारी, पन्थपाडा, केचना, झापा, महाभारा र आठमौजा (गौरीगञ्ज) रहेका छन् । जसमध्ये बाहुनडाँगी, नकलबन्दा, भद्रपुर र गौरीगञ्ज, कुमरखोद गरी ५ वटा सञ्चालनमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भीमप्रसाद अधिकारीले बताए ।
काँकरभिट्टा नाकाबाट भएको वैदेशिक व्यापार मध्ये करीव ७० प्रतिशत भारतसँग हुने गरेको छ । यो नाका बंगलादेश र भुटानसँग निकटतम् दुरीमा रहेकोले उक्त दुवै देशसँग स्थलगत व्यापार हुने प्रमुख नाका पनि हो । यस बाहेक यस नाकाबाट चीनसंग पनि समुन्द्रिक मार्ग भएर व्यापार हुने गरेको छ । यी राष्ट्रबाट करिव ९ प्रतिशत ब्यापार हुने गरेको छ । भारत, भुटान र बंगलादेश बाहेकका मुलुकहरुसँग व्यापार करिव १६ प्रतिशत हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भन्सार कार्यालयहरुवाट हुने बैदेशिक ब्यापार मध्ये आयात व्यापार हुने नाकाको हिसाबले मेची भन्सार मुलुककै छैठौ स्थानमा पर्छ । आर्थिक वर्ष २०७३÷०७४ का लागि मेची भन्सार कार्यालयले ६ अरब १८ करोड लक्ष्य राखेर काम गरेकोमा ६ अरव ४३ करोडको कारोवार भएको प्रमुख भन्सार अधिकृत अधिकारीले बताए । यो लक्ष्य भन्दा बढी हो । जुन प्रतिशतको हिसावमा एक सय पाँच प्रतिशत भएको अधिकारीले बताए ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर