कांग्रेसभित्र सहमतिको अन्तिम प्रयास असफल भएपछि पार्टी विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेका नेतृत्व परिवर्तनका सबै विकल्प अस्वीकार गर्दै संस्थापन पक्ष वार्ताबाट पछि हटेपछि कांग्रेस संकट गहिरिएको हो ।
सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडानमा सभापति शेरबहादुर देउवा तयार नभएपछि आपसी संवाद भाँडिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् ।

विशेष महाधिवेशनको स्वामित्व लिने, हलबाट पारित नीति–विधान कार्यान्वयन गर्ने विषयमा सहमति जनाए पनि सभापति शेरबहादुर देउवाको नेतृत्व निरन्तरतामा संस्थापन अडिग रहँदा संवाद भाँडिएको विशेष महाधिवेशन पक्षधरको आरोप छ ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बोलाइएको विशेष महाधिवेशनलाई कमजोर बनाउने, नेतृत्व परिवर्तनको लोकतान्त्रिक मागलाई ‘अपमान’को संज्ञा दिने र वार्ताकै बीचबाट बाहिरिनु संस्थापन पक्ष पार्टी एकताप्रति गम्भीर नभएको संकेत भएको नेताहरूको भनाइ छ ।
विशेष महाधिवेशन पक्षधरले सभापतिको सम्मान जोगाउँदै अन्तरिम व्यवस्था, कार्यवाहक नेतृत्व वा साझा ‘हाइकमान्ड’सम्मका विकल्प अघि सारे पनि संस्थापन पक्ष तयार नहुनुले पार्टीलाई जबर्जस्ती विभाजनतर्फ धकेलिएको उनीहरूको ठहर छ ।

सहमति नजुटेपछि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने स्पष्ट संकेत देखिएको छ । यसलाई रोक्न सक्ने राजनीतिक लचकता नदेखाउनु संस्थापन पक्षको निर्णय कांग्रेस फुटको मुख्य कारण बन्न सक्ने विश्लेषण गरिएको छ ।

