Aamsanchar

दाङ क्षेत्र नम्बर २ बाट एमालेले महासचिव शङ्कर पोखरेललाई उम्मेदवार बनाउने

Author Image
आइतवार, माघ ४, २०८२

दाङ – नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गरेको महासचिवको सचिवालयले जनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले दाङ क्षेत्र नम्बर २ को उम्मेदवार टुङ्ग्याउने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई प्रदान गरेको थियो ।

सोही निर्णयअनुसार महासचिव पोखरेललाई उम्मेदवार बनाउने टुङ्गो लागेसँगै क्षेत्रभर देखिएको अन्योल समाप्त भएको छ ।

यसअघि पोखरेल उम्मेदवार बन्दै आएको क्षेत्रमा उम्मेदवार नटुङ्गिँदा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा को उम्मेदवार हुने ? भन्ने विषयमा चौतर्फी चासो व्यक्त हुँदै आएको थियो । अब भने उम्मेदवारी टुङ्गिएसँगै निर्वाचनको तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ ।

२०५१ सालको मध्यावधि निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पोखरेल त्यसयता यही क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् । २०७४ सालको निर्वाचनमा उनी यसै क्षेत्रअन्तर्गत प्रदेश सभा १ बाट विजयी भई लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

जिल्लाको विकास र समृद्धिका ‘रोल मोडेल’ का रूपमा लिइने पोखरेलले पूर्वाधार, सेवा प्रवाह र समन्वयमा सक्रिय भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ । पोखरेल उम्मेदवार बन्ने खबरसँगै दाङका नागरिकहरू उत्साहित देखिएका छन् ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर