Aamsanchar

लामो खडेरी तोड्ने संकेत : माघेझरी शुक्रबारदेखि सुरु हुने अनुमान

Author Image
बिहिवार, माघ ८, २०८२

लामो समयदेखि वर्षा नहुँदा सुख्खा बनेको मौसममा अब केही परिवर्तन आउने संकेत देखिएको छ। मौसमविद्हरूका अनुसार शुक्रबारदेखि देशका विभिन्न भागमा माघेझरी सुरु हुने सम्भावना छ। माघ ९ गतेदेखि पश्चिमी वायु सक्रिय भई पानी पार्ने प्रणाली नेपाल भित्रने मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्।

उनका अनुसार उक्त प्रणाली माघ १३ गतेसम्म प्रभावकारी रहने अनुमान छ। विशेषगरी पश्चिम नेपालमा यसले राम्रै वर्षा गराउने सम्भावना देखिएको छ भने काठमाडौं उपत्यकामा भने छिटपुट वर्षा मात्रै हुन सक्ने प्रक्षेपण गरिएको छ।

यस वर्षको हिउँदयाम अहिलेसम्म पूर्ण रूपमा सुख्खा रहँदै आएको छ। सामान्यतया मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा औसत ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यसपटक अहिलेसम्म एक थोपा पानीसमेत नपरेको जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणले देखाएको छ।

मौसमविद् पोखरेलका अनुसार आज र भोलि मौसम सामान्यतया घमाइलो रहनेछ भने पछिल्लो समय घट्दै गएको चिसो शुक्रबारसम्म यही अवस्थामा रहनेछ। तर शुक्रबारदेखि चिसो बढ्नुका साथै पश्चिमी वायुको प्रभावले वर्षा पनि सुरु हुने उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापकसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत यसपटक भित्रने प्रणालीले पश्चिम नेपालमा उल्लेख्य वर्षा गराउने आशा व्यक्त गरेका छन्। पूर्वी नेपालको हिमाली क्षेत्रमा भने हल्का हिमपात मात्र हुने सम्भावना रहेको उनको अनुमान छ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले पूर्वचेतावनी सन्देश जारी गर्दै माघ ९ गते लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने जनाएको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले उल्लेख गरेको छ।

संभावित मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन क्षेत्र साथै हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै विभागले नियमित रूपमा जारी हुने मौसमी सूचना र अद्यावधिक विवरणमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर