Aamsanchar

झापाका ९ पालिका हात्तीपाइले रोगमुक्त, ६ पालिकामा अझै संक्रमण

Author Image
शनिवार, माघ १०, २०८२

झापा । झापाका १५ स्थानीय तहमध्ये ९ वटा पालिका हात्तीपाइले रोगमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तर कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा अझै पनि हात्तीपाइले रोगको संक्रमण रहेकाले स्वास्थ्य क्षेत्र र सम्बन्धित स्थानीय तहका लागि चिन्ताको विषय बनेको छ ।

फेयरमेडका कोशी प्रदेश संयोजक शशि कर्ण ।

नेपालमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता, सरकार परिवर्तन र निर्वाचन कार्यक्रमको प्रभावले हात्तीपाइले रोग निवारण अभियान प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । आर्थिक अभावका कारण झापाका ६ पालिकामा लामो समयसम्म अभियान सञ्चालन हुन सकेको थिएन ।
यद्यपि नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै केही दातृ संस्थाबाट प्राप्त आर्थिक सहयोगका कारण हात्तीपाइले रोग निवारण हुन बाँकी रहेका ६ पालिकामा पुनः आम औषधि सेवन अभियान सुरु गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि रविन्द्र खनिया ।

अभियानको तयारी चरण अन्तर्गत छलफल तथा कार्यशाला सम्पन्न भएसँगै आजदेखि कनकाई नगरपालिकाबाट आम औषधि सेवन अभियान सुरु गरिएको हो । कनकाई नगर कार्यपालिका भवनमा आयोजित अभिमुखीकरण कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेर कनकाईमा पुनः अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार यो अभियान १४ औँ चरणको हो ।

फेयरमेड फाउन्डेसनको आर्थिक सहयोगमा कनकाई नगरपालिकामा औषधि सेवन कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा फेयरमेडका कोशी प्रदेश संयोजक शशि कर्ण, रोग नियन्त्रण महाशाखाका राम रोकाया, स्वास्थ्य कार्यालय भद्रपुरका प्रमुख बृजकुमार दास, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले अभियानका उद्देश्य र प्रभावकारिताबारे प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्वास्थ्य कार्यालय भद्रपुरका प्रमुख बृजकुमार दास ।

कार्यक्रमको सहजीकरण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि रविन्द्र खनियाले गरेका थिए ।
यसपटकको अभियान सञ्चालनका लागि फेयरमेड, डब्लुएचओ, सहारा नेपाल, एनएलटीडी, टिएलएम र एनसिआर संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर