Aamsanchar

जेन–जीको आवाज सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै छ: शर्मा

Author Image
सोमवार, माघ १९, २०८२

विर्तामोड, १९ माघ
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन–जी विद्रोहपछि कमजोर बनेको जनविश्वास पुनःजोड्ने क्षमता नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–२ को चुनाव प्रचार समितिले विर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले फरक विचार र नयाँ चेतनालाई स्वीकार गर्दै समयअनुसार आफूलाई बदल्ने शक्ति कांग्रेसमै रहेको उल्लेख गर्नुभयो। २००७ सालको राजनीतिक परिवर्तनदेखि संविधान घोषणासम्मको नेतृत्व कांग्रेसले नै गरेको उदाहरण दिँदै उहाँले पार्टी बदलेर देश बदल्ने संकल्पसहित कांग्रेस अघि बढेको बताउनुभयो।

“कांग्रेस आफैं बदलिएको छ, नीति र नेतृत्व दुवैमा परिवर्तन गरेर चुनावी मैदानमा आएको छ,” शर्माले भन्नुभयो, “हामी भाषण गर्न होइन, देशका सबै कुनाकाप्चा घुमेर विकासका ठोस योजना बोकेर आएका हौँ।”

विशेष महाधिवेशनको सन्दर्भ उठाउँदै उहाँले पार्टीभित्र परिवर्तन चाहियो–चाहिएन भन्ने बहस अनावश्यक रहेको बताउनुभयो। कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचन परिणाम कांग्रेसको पक्षमा ल्याउन सक्रिय हुन आग्रह गर्नुभयो।

oplus_0

प्रधानमन्त्रीको उम्मेद्वारको विषयमा बोल्दै शर्माले गगनकुमार थापा नेतृत्व, दृष्टि र क्षमताका हिसाबले सबैभन्दा सक्षम रहेको दाबी गर्नुभयो। “आफू बदलिन नचाहनेले देश बदल्न सक्दैन,” उहाँले भन्नुभयो, “पार्टीमा पाहुना बनेर आएका व्यक्तिले नेतृत्व गर्न सक्दैनन्।”

यसपटक कांग्रेसले १०६ निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेद्वार बनाएको, अघिल्लो निर्वाचनको तुलनामा दोब्बर महिला उम्मेद्वार अघि सारेपछि कार्यकर्तामा उत्साह बढेको शर्माको भनाइ थियो। जेन–जी आन्दोलनका क्रममा भएका अप्रिय घटनाबारे निष्पक्ष छानबिन आवश्यक रहेको धारणा पनि उहाँले राख्नुभयो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले उम्मेद्वार छनोटमा देखिएको परिपक्वताले पार्टीभित्र परिवर्तन सम्भव भएको प्रमाणित गरेको बताउनुभयो। कोशी प्रदेश सभापति उद्वव थापाले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएपछि मतदातामा उत्साह थपिएको उल्लेख गर्दै निर्वाचनपछि कांग्रेस पहिलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो।

झापा क्षेत्र नम्बर–२ की उम्मेद्वार सरिता प्रसाईंले आफूले विगतमा पाएका जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेको उल्लेख गर्दै महिला प्रतिनिधित्व, नागरिकता, भ्रष्टाचारविरुद्धका कानुनी सुधार र कृषि क्षेत्रमा ल्याइएका कार्यक्रमहरूको चर्चा गर्नुभयो। कांग्रेसलाई स्पष्ट बहुमत दिन उहाँले मतदातासमक्ष अपिल गर्नुभयो।

समानुपातिक उम्मेद्वारहरू उमा शिवाकोटी र मनुमाया विश्वकर्माले परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्ने दाबी गर्दै पार्टीलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा झापा क्षेत्र नम्बर–२ का सभापति खगेन्द्र मैनालीले प्रचार–प्रसारका गतिविधिबारे जानकारी गराउनुभएको थियो। भेलामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव चन्द्र चुडालले गर्नुभएको थियो।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर