Aamsanchar

सहारा साकोस शिक्षा सदनमा शिक्षा मात्र होइन, जीवन सीप पनि

घरायसीदेखि व्यवसायिक सीपसम्म सिकाइने ‘नमुना विद्यालय’तर्फको यात्रा

Author Image
बुधवार, माघ २१, २०८२

चारपाने । बिर्तामोड–२ स्थित सहारा साकोस शिक्षा सदनले स्थापनाको आठ वर्ष पूरा गर्दै आफूलाई परम्परागत पढाइको घेराबाट बाहिर निकाल्दै जीवनोपयोगी सीप, संस्कार र आत्मनिर्भरतामुखी शिक्षाको अभ्यासमा अघि बढाएको छ।

विद्यालयको आठौँ वार्षिकोत्सव कार्यक्रम शैक्षिक तथा सांस्कृतिक गतिविधिले भरिपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विन्दू श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा विद्यालयका सञ्चालक तथा सहारा नेपाल साकोसका कार्यकारी निर्देशक, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सहारा साकोस शिक्षा सदनलाई नेपालीपन झल्कने नमूना विद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरे।

उनले विद्यालयको भौतिक पूर्वाधार विस्तारका लागि चारपाने आसपास पाँच विगाह जमिन व्यवस्थापन भइसकेको जानकारी दिँदै सोही स्थानमा आधुनिक संरचना निर्माण गरिने बताए।

“हामी विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित राख्दैनौँ,”
गिरीले भने, “नेपाली संस्कार, संस्कृति र पहिचान झल्कने शिक्षा, जापानी शैक्षिक मोडलबाट प्रेरित अनुशासन र व्यवहारिक सीप हाम्रो प्राथमिकता हो।”

‘पढ्दै कमाउँदै’ कार्यक्रम : आत्मनिर्भरताको अभ्यास

वार्षिकोत्सवकै अवसरमा विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने योजना सार्वजनिक गरेको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीलाई घरायसी सीपदेखि साना व्यवसायिक शिपसम्म सिकाइने छ, जसले उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।

यसैगरी, आगामी शैक्षिक सत्रदेखि कक्षा थप गर्दै क्रमशः कक्षा १२ सम्म अध्ययन गराउने, ईसीए गतिविधि विस्तार गर्ने र विद्यार्थीलाई प्रोजेक्ट वर्कमा जोड दिने योजना पनि अघि सारिएको छ।

सात विद्यार्थीबाट ७ सयसम्मको यात्रा

विद्यालयका शैक्षिक गतिविधिमाथि प्रकाश पार्दै प्रिन्सिपल विष्णु सिंहलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनले सहारा शिक्षा सदनको यात्रालाई स्पष्ट चित्रित ग¥यो।

२०७४ सालमा सात जना विद्यार्थी, दुई शिक्षक र एक सवारी चालकबाट सुरु भएको विद्यालयमा हाल ७ सय विद्यार्थी अध्ययनरत छन्।
विद्यालयमा हाल ४२ शिक्षकसहित ७३ कर्मचारी कार्यरत छन्।

नर्सरीदेखि कक्षा ८ सम्म पठनपाठन भइरहेको विद्यालयले आगामी शैक्षिक सत्रमा कक्षा ९ सञ्चालनको प्रक्रिया अघि बढाइसकेको जानकारी पनि दिइयो।

संस्कार, खेलकुद र सिर्जनात्मकता

विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणाली, मासिक तथा चौमासिक परीक्षा, कमजोर विद्यार्थीका लागि बिहान–बेलुकी विशेष कक्षा, हरेक बुधबार अतिरिक्त क्रियाकलाप, खेलकुद प्रतियोगिता तथा पर्व–विशेष कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

सांस्कृतिक प्रस्तुति र सम्मान

वार्षिकोत्सवमा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो।
विद्यार्थी जेनिस तिवासी र विराज आचार्यको कविता वाचन, स्वरस्वती वन्दना, गुरु वन्दना, महाकाल नृत्यदेखि साकेला, थारु, मारुनी, नेवारी नृत्य र ‘छिटको सारी मखमली चोरी’सम्मका प्रस्तुतीले कार्यक्रमस्थललाई उत्सवमय बनाएको थियो।

कार्यक्रमको सञ्चालन र स्वागत मन्तव्यसमेत विद्यार्थीहरूले नै प्रस्तुत गरेका थिए, जसले विद्यालयको नेतृत्व विकास अभ्यास झल्काएको थियो।

न्यून शुल्क, समावेशी शिक्षा

आठ वर्षको यात्रामा सहारा साकोस शिक्षा सदनले न्यून शुल्क र निःशुल्क छात्रवृत्तिमार्फत आर्थिक रूपमा कमजोर तथा असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर