नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाबाट स्पष्ट सन्देश दिएका छन्—निर्वाचन अब टर्दैन। झापावासीहरूसँगको भेटघाटमा उनले आगामी निर्वाचन फागुन २१ गते नै हुने सम्भावना बलियो रहेको दाबी गर्दै एमाले त्यसका लागि तयार रहेको संकेत दिए।

यसअघि ‘निर्वाचनको वातावरण बनेको छैन’ भन्ने अभिव्यक्ति दिँदै आएका ओलीले यसपटक भने स्वर बदले। उनले फागुन २१ मा चुनाव भए पनि, केही समय पछि सरे पनि जित्ने पार्टी एमाले नै हुने ठोकुवा गरे। उनका अनुसार निर्वाचनको मिति भन्दा महत्वपूर्ण कुरा जनताको फैसला हो, र त्यो फैसला एमालेकै पक्षमा आउने विश्वास उनले व्यक्त गरे।

अध्यक्ष ओलीले आफू नेतृत्वको पार्टीलाई केवल राजनीतिक संगठन नभई देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा प्रस्तुत गरे। राष्ट्रिय हितको रक्षा, संवर्द्धन र नेतृत्व गर्ने क्षमता वैचारिक स्पष्टता, व्यवहारिक अडान र संघर्षको इतिहास एमालेसँग मात्रै रहेको उनको दाबी थियो।
सरकारमा एमाले रहेको समयमा विकासले गति लिएको स्मरण गराउँदै ओलीले पूर्वाधार, राष्ट्रिय स्वाभिमान र नीतिगत स्थायित्वका मुद्दामा एमालेको भूमिका निर्णायक रहेको बताए। उनका शब्दमा, “देशलाई अघि बढाउने दिशामा एमालेको योगदान बोल्ने खालको छ।”

झापाबाट आएको ओलीको यो सन्देश केवल चुनावी मिति घोषणामा सीमित छैन, बरु आगामी निर्वाचनको राजनीतिक मनोविज्ञान सेट गर्ने प्रयासका रूपमा हेरिएको छ।


