बिर्तामोड।
भारतको मेदान्त अस्पताल र झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालबीच स्वास्थ्य उपचार गर्ने कार्यमा समन्वय गर्ने सहमति भएको छ ।
सेवाग्राहीलाई थप र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दुई अस्पतालबीच सहकार्य गर्ने सहमति भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई र मेदान्त हस्पिटलका वरिष्ठ अन्कोलोजिष्ट डा. तेजेन्द्र कटरिया, वरिष्ठ मुटु रोग विशेषज्ञ आरआर कस्लीवाल, वरिष्ठ न्यूरो सर्जन डा. सुधिर दुबे, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सञ्जय उप्रेतीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको अस्पतालले जनाएको छ ।
वीएण्डसीमा जटिल प्रकारका बिरामी अस्पताल आएको खण्डमा मेदान्त अस्पतालका डाक्टरले आएर सेवा प्रदान गर्ने लगायतको सम्झौता भएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताए । मेदान्त अस्पतालसँगकै सहकार्यमा वीएण्डसीमा ६ महिनाभित्रमा मुटुको समेत शल्यक्रिया सेवा शुरु गर्ने र क्यान्सरको रेडियो थेरापी, टोमो थेरापी सुचारु गर्ने सम्झौता भएको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए ।
अस्पताल परिसरमा भएको चिकित्सकहरुको बैठकमा बीएण्डसी अस्पतालका तर्फबाट अस्पतालका प्रिन्सिपल डा. उमेशकुमार शर्मा, वरिष्ठ सर्जन डा. रोहितप्रसाद यादव, न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बू, डा. निराजन प्रसाईंले समेत अस्पतालले प्रदान गर्ने सेवासुविधाका विषयमा बताउँदै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मेदान्त अस्पतालसँगको सहकार्यपछि बीएण्डसी अस्पतालले मेदान्त सरह नै बिरामीलाई सेवा प्रदान गर्ने अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले दावी गरे ।
मेदान्त अस्पतालका वरिष्ठ अन्कोलोजिष्ट डा. कटरियाले बीएण्डसी अस्पतालले राखेका उपकरण मेदान्त अस्पतालको सरह नै भएको र डा. पनि अनुभवी भएकाले यहाँका सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्ने गरेको आफूलाई लागेको बताएका थिए । निजी स्तरबाट सञ्चालनमा आएको अस्पतालको सेवाप्रति खुशी व्यक्त गर्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. आरआर कस्लीवालले मेदान्तसँगको सहकार्यमा ‘ओपन हर्ट’ सर्जरी सुचारु गरेपछि यसक्षेत्रका बिरामीले जटिल प्रकारको उपचारका लागि समेत अन्यत्र जानु नपर्ने बताए । उनले सर्वसाधारणको मनोभावलाई बुझेर डाक्टरलाई औषधि उपचार गर्न सुझाव समेत दिए ।
न्यूरोका लागि समेत उच्चस्तरीय उपकरणसहित अस्पतालले शुरु गरेको भन्दै डा. सुधिर दुबेले न्यूरो सेवा समेत गुणस्तरीय प्रदान गर्ने गरेको बताए ।
पा“च सय जनाको स्वास्थ्य परीक्षण
भारतको मेदान्त अस्पतालबाट बीएण्डसी अस्पताल बिर्तामोड आएका वरिष्ठ डाक्टरहरुले पाँच सय जनाको स्वास्थ्य परीक्षण गरेका छन् ।
दुई दिनसम्म भएको स्वास्थ्य शिविरमा मेदान्त हस्पिटलका वरिष्ठ अन्कोलोजिष्ट डा. तेजेन्द्र कटरिया, वरिष्ठ मुटु रोग विशेषज्ञ आरआर कस्लीवाल, वरिष्ठ न्यूरो सर्जन डा. सुधिर दुबे, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सञ्जय उप्रेती लगायत दश जना डाक्टरको टीमले बिरामीको स्वास्थ्य जाँच गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बताए । असार ३१ र साउन १ गते दुई दिनसम्म मेदान्तबाट आएका विशेषज्ञ डाक्टरले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।