Aamsanchar

बिर्तामोड टावर टेम्पल स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न

Author Image
शुक्रवार, माघ २३, २०८२

झापा । बिर्तामोडस्थित प्रतिष्ठित शैक्षिक संस्था टावर टेम्पल स्कुलको २९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

माघ २३ गते विद्यालय प्राङ्गणमा आयोजित वार्षिकोत्सव कार्यक्रममा खेलकुद तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिइँदै विद्यार्थीहरूका अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले खुला मञ्च प्रदान गरिएको थियो । कार्यक्रममा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूले नृत्य, गायनलगायत विविध प्रस्तुति दिएका थिए ।

विद्यालयका संस्थापक सम्पत्ति धिमालको अध्यक्षतामा सम्पन्न समारोहमा प्याब्सन झापाका अध्यक्ष छत्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली सेनाका सेनानी आनन्दकुमार श्रेष्ठ, इन्द्र चौधरी, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, झापा जिल्ला तेक्वान्दो संघ उपाध्यक्ष दिपेन धिमाल, वीरअमरसिंह माध्यमिक विद्यालयका अध्यक्ष जीवन खड्का, लगायतको आतिथ्य रहेको प्रिन्सिपल तेजप्रसाद भट्टराईले बताउनु भयो ।

कार्यक्रमको स्वागत मन्तव्य कक्षा ८ की छात्रा इभाना केरुङले दिएकी थिइन् भने कार्यक्रम सञ्चालन कक्षा १० की छात्रा मिक्सु सुब्बा र यमनाथ घिमिरेले गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक राजीव धिमालले विद्यालयको शैक्षिक दर्शन, उपलब्धि र भावी योजनाबारे जानकारी गराउँदै गुणस्तरीय शिक्षा र सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि हुनुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो ।

Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर