Aamsanchar

किशोरी शिक्षाका कारण जीवन नै परिवर्तन

Author Image
बिहिवार, साउन ५, २०७४

महोत्तरी।

शिक्षा विभागका निर्देशक मित्रनाथ गर्तौलाले विद्यालयको पहुँचबाट टाढा रहेको महोत्तरीको विकट क्षेत्रका विपन्न समुदायका किशोरी एवं आमालाई शिक्षित बनाउने काम सराहनीय रहेको बताउनुभएको छ ।

मुस्लिम बाहुल्य रहेको महोत्तरीको पर्सादेवाडमा हाले पुग्नुभएका निर्देशक गर्तौलाले बाहिर रहेका बालबालिकालाई बिद्यालयसम्मको पहुँचका लागि किशोरी शिक्षामार्फत सहयोग पु¥याएकोमा खुशी व्यक्त गर्नुभयो ।

किशोरी शिक्षाका कारण आफूहरुको जीवन नै परिवर्तनको पथमा लम्किएको भन्दै महोत्तरी सम्सी गाउँपालिका पर्सा देवाडकी १३ वर्षीया सविना खातुन हर्षित भएकी छिन् । किशोरी शिक्षा कार्यक्रमको प्रभावले जीवन नै शिक्षाको ज्योतितर्फ बढेको खातुनले बताइन् ।

गाउँमै सञ्चालित किशोरी शिक्षा कक्षामा नौ महिना अध्ययन गरी राष्ट्रिय माविमा कक्षा २ मा भर्ना भएकी अर्की १३ वर्षीया युवती गजला प्रविणाको पनि यस्तै कथन छ । अक्षरसँग कहिल्यै भेट नभए पनि नौ महिनासम्म आमा कक्षामा पढेकी स्थानीय ३५ वर्षीया रजिया खातुन अब सजिलै चिठीपत्र पढ्नका साथै हरहिसाब गर्नसमेत सफल भएकी छिन् ।

आधा जीवन घाँसपात, दाउरा र घरगृहस्थी तथा बालबच्चा सम्हाल्नमै सीमित भएकी चार बच्चाकी आमा खातुनले गाँउमै सञ्चालित आमा शिक्षा ग्रहण गरी बालबच्चालाई समयमै विद्यालय पढाउँदैछिन् भने घरआँगन सरसफाइमा विशेष ध्यान दिँदै आएकी छिन् । अब सन्तानलाई कुनै पनि हालतमा बालविवाह नगर्ने र समाजमा कदापि हुन नदिने खातुनले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

निर्देशक गर्लौलासहितका सरोकारवालालाई पर्सादेवाडकी किशोरीले सुविधाविहीन माविमा ध्यान पु¥याउन आग्रह गर्नुभयो । पर्सा माविमा फर्निचर तथा कक्षा कोठाको निकै अभाव छ ।

विश्व शिक्षा संस्थाको सहयोगमा गत वर्ष सञ्चालित किशोरी शिक्षाका बालिका अहिले विद्यालय गइरहेका छन् । समाज विकास केन्द्रका अध्यक्ष नइम अन्सारीले यस वर्ष मुस्लिम र दलित समुदायका ३०४ बालिकालाई जिल्लाका सातवटा विद्यालयमा भर्ना गराउन सफल भएको बताउनुभयो ।

महोत्तरी आएका निर्देशक गर्तौलाले बर्दिवासमा आयोजित सात दिने किशोरी शिक्षा सहजकर्ता आधारभूत तालीमको उद्घाटनसमेत गर्नुभएको थियो ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर