झापा – झापा–२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक बन्दै गएको छ। तीन दशकभन्दा लामो समाजसेवाबाट पहिचान बनाएकी इन्दिरा रानामगर पहिलो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी उनी यसअघि समानुपातिक सांसद तथा प्रतिनिधिसभाको उपसभामुख भइसकेकी छन्।

समाजसेवाबाट राजनीतिमा

वि.सं. २०२७ मा झापाको अर्जुनधारामा जन्मिएकी रानामगरले समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेपछि मानव सेवाको क्षेत्रमा पाइला टेकेकी थिइन्। प्रसिद्ध साहित्यकार पारिजात सँगको संगतले उनको जीवनको दिशा परिवर्तन गरेको बताइन्छ। कारागार भ्रमणका क्रममा कैदीबन्दीका बालबालिकाको दयनीय अवस्था देखेपछि उनले २०५७ सालमा ‘बन्दी सहायता नेपाल (पीए नेपाल)’ स्थापना गरिन्।
संस्थामार्फत उनले जेल सजाय भोगिरहेका महिलाका सन्तानलाई शिक्षा, संरक्षण र सुरक्षित बाल्यकाल प्रदान गर्दै आएकी छन्। झापा, पाल्पा र काठमाडौंमा बाल संरक्षणगृह सञ्चालन गर्नुका साथै विद्यालयसमेत चलाएकी उनले सयौं बालबालिकाको उद्धार गरेको दाबी छ।

अन्तर्राष्ट्रिय सम्मान
उनको प्रयासले अन्तर्राष्ट्रिय मान्यता समेत पायो। सन् २००५ मा ‘अशोका फेलो’ सम्मान, २००९ मा ‘एसिया जनसेवा अवार्ड’, २०१४ मा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई सँगै ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ तथा २०१७ मा द्यद्यऋ ले सार्वजनिक गर्ने ‘बीबीसी १०० विमिन’ सूचीमा समेत उनी समेटिएकी थिइन्।
राजनीतिमा प्रवेश र अनुभव
रवि लामिछाने को आग्रहमा रास्वपामा प्रवेश गरेकी रानामगर २०७९ सालमा समानुपातिक सांसद निर्वाचित भइन्। त्यसलगत्तै उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भइन्। छोटो समयमै संसद्को नेतृत्व तहमा पुगेकी उनी ‘नयाँ राजनीतिको प्रतिनिधि’ का रूपमा चिनिइन्।
विवाद र आलोचना
उपसभामुख रहँदा अमेरिकी दूतावासलाई भिसा अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै पत्र लेखेको विषय सार्वजनिक भएपछि उनी विवादमा परिन्। पदीय मर्यादा उल्लङ्घन गरेको आरोप लागे पनि कुनै दलले औपचारिक महाभियोग प्रस्ताव भने ल्याएनन्। छिटो प्रतिक्रिया दिने स्वभाव र भावुक अभिव्यक्तिका कारण पनि उनी बेला–बेला आलोचित हुँदै आएकी छन्।
चुनावी प्रतिस्पर्धा कडा
झापा–२ मा उनको मुख्य प्रतिस्पर्धी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे हुन्। अघिल्लो संसद्मा सँगै कार्य गरेका यी दुई नेता अहिले आमने–सामने छन्। यसैगरी नेकपाकी धर्मशीला चापागाईं र राप्रपाबाट उम्मेदवार बनेका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) पनि प्रतिस्पर्धामा छन्।
बलिया पक्ष र चुनौती
रानामगरको बलियो पक्ष भनेको कैदीबन्दीका बालबालिकाको उद्धारमा केन्द्रित ३ दशक लामो समाजसेवा, अन्तर्राष्ट्रिय पहिचान र ‘सेवा नै धर्म हो’ भन्ने जीवनदर्शन हो। तर, बलिया प्रतिस्पर्धी र विगतका विवाद उनका लागि चुनौतीका रूपमा देखिएका छन्।
पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दै गरेकी रानामगरले समाजसेवाको पृष्ठभूमिलाई मतदातामाझ मुख्य एजेन्डा बनाएकी छन्। झापा–२ का मतदाताले सेवा र अनुभवलाई प्राथमिकता दिने कि परम्परागत राजनीतिक शक्तिलाई निरन्तरता दिने भन्ने प्रश्नसँगै यो क्षेत्रको प्रतिस्पर्धा थप रोचक बनेको छ।


