

राजनीतिक दलहरूले “पार्टी प्रवेश” लाई शक्ति प्रदर्शनको औजारका रूपमा प्रयोग गर्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन। धेरैजसो अवस्थामा कुनै व्यक्ति वा समूहले वास्तवमै विचार परिवर्तन गरेर पार्टी प्रवेश गरेको हुन्छ, तर कतिपय अवस्थामा आफ्नै कार्यकर्तालाई अस्थायी रूपमा अर्को दलमा पठाएर पछि पुनः “भव्य स्वागत” सहित फर्काइने नाटक पनि देखिन्छ। यसले जनमानसमा भ्रम सिर्जना गर्ने मात्र होइन, लोकतान्त्रिक अभ्यासको विश्वसनीयतामाथि नै प्रश्न उठाउने काम गर्दछ।

यस प्रकारको गतिविधि हुनुका पछाडि मुख्यतः तीन कारण देखिन्छन्—वाध्यता, अवसर र प्रतिस्पर्धात्मक राजनीति। पहिलो, वाध्यतास् चुनावी प्रतिस्पर्धा कडा हुँदा दलहरूलाई आफ्नो पक्षमा माहोल देखाउनुपर्ने दबाब हुन्छ। मतदातामा मनोवैज्ञानिक प्रभाव पार्न “हामीतिर लहर छ” भन्ने सन्देश दिन संख्या प्रदर्शन आवश्यक ठानिन्छ। दोस्रो, अवसरस् केही व्यक्तिहरू आर्थिक वा व्यक्तिगत फाइदाका लागि अस्थायी रूपमा दल परिवर्तन गर्ने खेलमा संलग्न हुन सक्छन्। तेस्रो, राजनीतिक संस्कारको कमजोरीस् विचार, नीति र कार्यक्रमभन्दा व्यक्तिकेन्द्रित राजनीति हावी हुँदा यस्तो प्रवृत्ति मौलाउने गर्छ।
चुनावी समयमा कार्यक्रम, सभा र पार्टी प्रवेश समारोहमा ठूलो भीड देखाउनु रणनीतिक रूपमा लाभदायक मानिन्छ। कतिपय अवस्थामा कार्यक्रमका लागि मानिस उपस्थित गराउने व्यावसायिक समूह वा ठेकेदारहरू प्रयोग गरिएको चर्चा पनि हुने गर्छ। दैनिक ज्यालादारीमा मानिसहरू उपस्थित गराएर “जनलहर” को छवि बनाउने प्रयास गरिन्छ। यस्तो कृत्रिम भीडले केही समयका लागि माहोल बनाउन सक्छ, तर यसले दीर्घकालीन राजनीतिक निष्ठा निर्माण गर्न सक्दैन।

यसको वर्तमान प्रभाव बहुआयामिक छ। पहिलो, यसले मतदातामा भ्रम र अविश्वास बढाउँछ। बारम्बार पार्टी परिवर्तन गर्ने वा औपचारिक कार्यक्रमपछि निष्क्रिय हुने “नयाँ प्रवेशी” हरू देखिँदा जनताले राजनीतिक घोषणालाई गम्भीर रूपमा लिन छाड्छन्। दोस्रो, पार्टीभित्रै समर्पित कार्यकर्तामा असन्तोष पैदा हुन्छ। वर्षौंदेखि काम गरेका कार्यकर्ताभन्दा “नयाँ प्रवेशी” लाई प्राथमिकता दिइँदा संगठनात्मक मनोबल खस्किन्छ। तेस्रो, राजनीतिक संवादको स्तर खस्किन्छ, किनकि ध्यान नीति र मुद्दाबाट हटेर संख्या र प्रदर्शनमा केन्द्रित हुन्छ।
भविष्यमा यसको असर झन् गम्भीर हुन सक्छ। यदि दलहरूले संख्या प्रदर्शनलाई नै सफलता ठानिरहे भने विचार, सिद्धान्त र नीतिगत बहस कमजोर बन्दै जानेछ। युवापुस्ता राजनीतिप्रति निराश हुन सक्छ। दीर्घकालमा यसले लोकतान्त्रिक संस्थाप्रति विश्वास घटाउने खतरा हुन्छ। मतदाता सचेत र सूचनामा आधारित निर्णय गर्न सक्षम भए मात्र यस्तो प्रवृत्तिमा कमी आउन सक्छ।
पुराना दलहरूमा यस्तो परिपाटी बढी देखिनुको कारण संगठनको आकार, स्रोतसाधन र सत्ता अनुभवसँग जोडिएको छ। उनीहरूसँग कार्यक्रम गर्न र प्रचारप्रसार गर्न पर्याप्त साधन हुन्छन्। साथै, लामो समयदेखि स्थापित शक्ति संरचनाले प्रभाव प्रदर्शन गर्नुपर्ने दबाब पनि महसुस गर्छ। नयाँ दलहरू पनि यसबाट अछुतो छैनन्, तर पुराना दलमा प्रतिस्पर्धात्मक दबाब र परम्परागत शैलीका कारण यो प्रवृत्ति बढी प्रकट भएको देखिन्छ।
अन्ततः, स्वस्थ लोकतन्त्रका लागि पारदर्शिता, वैचारिक स्पष्टता र आन्तरिक लोकतन्त्र आवश्यक हुन्छ। पार्टी प्रवेशलाई वास्तविक राजनीतिक प्रतिबद्धताको आधारमा मूल्यांकन गर्ने संस्कार विकास भए मात्र संख्या(आधारित प्रदर्शनको राजनीति कमजोर हुँदै जानेछ। समयसँगै आउने परिवर्तनको नाराले भने जनता आफैँ स्वस्फूर्त रूपमा पनि भिड बन्ने गरेका छन्। अघिल्ला समयमा नेपाली कांग्रेस का नेता विपी कोइराला, नेकपा ९एमाले० का नेता मदन भण्डारी तथा तत्कालीन नेकपा ९माओवादी केन्द्र० का नेता पुष्पकमल दाहाल ९प्रचण्ड० ले सम्बोधन गर्ने सभास्थलमा जनताको उपस्थिती अत्यधिक रहने गरेको पाइन्थ्यो। ती सभाहरू केवल भीड प्रदर्शन मात्र नभई राजनीतिक परिवर्तनको आशा र वैचारिक बहसका केन्द्रसमेत बन्ने गर्थे।
पछिल्लो समयमा रवि लामिछाने, राजेन्द्र लिङदेन, बालेन शाह, हर्क साम्पाङ र कुलमान घिसिङ जस्ता व्यक्तित्वले सम्बोधन गर्ने सभामा पनि उल्लेख्य जनसहभागिता देखिन्छ। भलै ती सभाहरू स्थान, सन्दर्भ र राजनीतिक पृष्ठभूमिका आधारमा फरक–फरक हुन्छन्, तर परिवर्तनको आकांक्षा भने समान देखिन्छ।
यसले के संकेत गर्छ भने सबै भीड कृत्रिम वा प्रायोजित हुँदैनन्। जब समाजमा असन्तोष बढ्छ, पुराना संरचनाप्रति निराशा गहिरिन्छ र नयाँ विकल्पको खोजी तीव्र हुन्छ, तब जनता आफैँ उपस्थित भएर आफ्नो समर्थन अभिव्यक्त गर्छन्। यसरी स्वस्फूर्त रूपमा उत्रिएको जनसागर राजनीतिक चेतनाको प्रतीक पनि हुन सक्छ। तर चुनौती के हो भने यस्तो जनसमर्थनलाई क्षणिक उत्साहमा सीमित नराखी दीर्घकालीन नीतिगत परिवर्तनमा रूपान्तरण गर्न सक्नु।
अन्ततः, भीड दुई प्रकारका हुन सक्छन्—प्रदर्शनका लागि जुटाइएका र आशाका लागि स्वतः जुटेका। लोकतन्त्रको स्वास्थ्य त्यसैमा निर्भर गर्छ कि कुन प्रकारको सहभागिता दीर्घकालसम्म टिकाउ हुन्छ।


