

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।

यो खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ।
जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो। यसअघि समूह डी मा भएको भेटमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो।

एडन मार्क्रमको कप्तानीमा रहेको दक्षिण अफ्रिका प्रतियोगितामा अपराजित छ। समूह चरणमा शतप्रतिशत जितका साथ सुपर एट पुगेको दक्षिण अफ्रिकाले त्यसचरणको समूह १ भारत र वेस्ट इन्डिज जस्ता टोलीलाई फराकिलो अन्तरले हराउँदै अपराजित यात्रा कायम राख्यो।
भारतलाई ७६ रन र वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै उच्च मनोबल बनाएको दक्षिण अफ्रिकाको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको छ।
मिचेल स्यान्टनरको नेतृत्वमा रहेको किवी टोली यसपटक सुरुदेखि नै उत्कृष्ट फर्ममा देखिएको छ। समूह डी को उपविजेता बन्दै दोस्रो चरणमा पुगेको न्युजिल्याण्ड सुपर एटमा भाग्यशाली बन्यो।
पाकिस्तानसँग समान ३–३ अंक बनाए पनि नेट रन रेटमा माथि रहँदै न्युजिल्याण्डले अन्तिम ४ मा स्थान बनाएको हो।
दबाबमा उत्कृष्ट प्रदर्शन गर्न माहिर किवी टोलीले सुपर एटको समूह २ मा घरेलु टोली श्रीलंकालाई ६१ रनले हराउनुनै सेमिफाइनल यात्राका लागि निर्णायक बन्यो
टी९२० मा फर्म्याटमा भएका यी दुईबीचको खेल हेर्दा दक्षिण अफ्रिकाको पल्ला भारी छ। यो ढाँचामा यी दुई टोलीबीच भएका १९ खेलमध्ये दक्षिण अफ्रिकाले १२ र न्युजिल्याण्डले ७ खेल जितेका छन्।
टी–२० विश्वकपमा मात्र भएका ५ भेटमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन।
उत्कृष्ट प्रदर्शनका बाबजुद निर्णायक खेलमा पछि पर्दा क्रिकेट जगतका दुई अभागी टोली भनिने न्युजिल्याण्ड र दक्षिण अफ्रिकालाई यसपटक त्यो छवि सुधार गर्ने अवसर छ।
दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन्। दक्षिण अफ्रिका गत संस्करण भारतसँग ७ रनले हार्दै उपविजेतामा सिमित हुँदा २०२१ मा अष्ट्रेलियासँग ८ विकेटले हार्दै न्युजिल्याण्ड उपविजेता बनेको थियो।
दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्नेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ।


