

२०४८ देखि सामान्य आलोचनात्मक चेत सहित देशको अवस्था नियाल्दा लेखेको प्रजातन्त्र र देखेको प्रजातन्त्र, खोकेको माक्र्सवाद भोगेको माक्र्सवाद, घोकेको माओवाद र बोकेको अवसरवाद , किताबको सुशासन र निसाफको कुशासन सबै सबैको आवेग नागरिकहरूले मतपेटिकामा पोखेका छन् ।

२०४८ पछि भौतिक विकासका क्षेत्रमा केही उन्नति भएपनि निम्न तहका नागरिकले खाडी मलेसियामा बगाएको पसिनाबाट प्राप्त विप्रेषण नै अर्थतन्त्रको आधार बन्यो । देश युवा विहीन भयो । परिवार विखण्डित भयो । कृषि बन्जर भयो । नेतृत्वका कारणले आम नागरिकमा देशप्रति चरम निराशा बढ्यो । भ्रष्टाचार र कमिसन काण्डका धरहरा खडा गरिए । बिचौलियाको बिगबिगी बढ्यो।संस्थागत राजनीतिकरणले सबै क्षेत्र तहसनहस भए। शासन प्रशासन गिरोहबाट चल्यो । यी सबै कारणले गर्दा स्थापित दलप्रति विकर्षण बढ्यो । २०७९ को निर्वाचनको जनमतबाट तेस्रो मत प्राप्त गरेको नयाँ दलप्रति अनौठो प्रतिशोध पक्षपात र घेराबन्दी पनि नागरिकले अनुभूत गरेछन् । तसर्थ यो आशातीत परिणाम आयो ।
आम निर्वाचन –२०८२ को जनमतलाई कदर गर्दै आगामी सरकार अगाडि बढ्न सक्ने गणितीय आधार छ । रौसिने रहौसिने छुट र बहाना यो दललाई किमार्थ छैन । देशको हितका लागि संविधान परिमार्जन र प्रणालीमै सुधार गर्ने सम्मको शक्ति प्रदान गर्ने नागरिकको भावनामाथि आघात नपुर्याइकन देशले उन्नतिको नक्साङ्कन गर्न सकोस् । अहिलेका लागि विजयी सबै विधायकलाई शुभकामना छ ।
२०४८ पछि मतदाताले सधैँ विवेकपूर्ण निर्णय लिएका छन् । अहिलेको मतदानलाई अवमूल्यन गर्दै टिकाटिप्पणी गर्ने छुट कसैलाई छैन । हिजो पुराना दललाई विजयी गराउने भुइँ तहका मतदाताको कुनै गल्ती छैन । तर नेतृत्वले पटकपटक गल्ती गरेकै हो ।त्यसलाई छोप्ने मुख्य नेतृत्वका हुक्के बैठके र तल्लो तहसम्म गिरोह चलाउने अलिक टाठाबाठा साथीहरूको पनि गल्तीमा केही हिस्सा छ ।
अचम्म लाग्ने गरी जातिवाद र पाटीवाद किनारीकृत भएको छ । क्षेत्रीयता र सङ्कीर्णता बिलाएको छ । २० पट मन्त्री भएका अवसरवादीहरू पछारिएका छन् । कार्यकर्ताको अभेद्य भनिने व्युह मुर्छित भएको छ । जनतालाई मूर्ख मान्ने राजनीतिका पण्डाहरू स्तब्ध बनेका छन् । तीन कक्षामा पढ्ने केटाकेटीहरूले बौद्धिक विश्लेषकभन्दा सचेत अनुमान गरेजस्तै नतिजा आएको छ ।
करिब दुई तिहाइ मत २०७४ मा पनि आएकै हो । नेतृत्वले सामान्य बहुमत टिकाउन नसक्ता देश कसरी द्वन्द्वमा फँस्यो भन्ने इतिहास ताजा छ । तसर्थ दलभित्रको प्रजातन्त्र सबल बनोस् नेतृत्वले दललाई एक ढिक्का राखेर आगामी पाँच वर्ष स्थिर सरकार चलाउन सकोस् । नेतृत्वमा दम्भ र दर्पको टुसा नपलाओस् । प्रतिशोध र निषेधका आधारमा शासन प्रशासन नचलोस् ।
प्रधानमन्त्री र मन्त्रीहरू क्षेत्रमुखी नबनुन् । बजेट पहुँचभन्दा आवश्यकताका आधारमा सबै क्षेत्रमा पुगोस् । अर्को चुनावमा हाम्रो प्रधानमन्त्रीले यो क्षेत्रमा यस्ता सडक बनाए भन्ने खोक्रा विज्ञापनभन्दा सुशासन , आत्मनिर्भरता ,रोजगारी र अर्थतन्त्रको आयाका आधारमा राष्ट्रको पहिचान स्थापित होओस् । भूराजनीतिको डढेलोमा नागरिकका सपनाहरू नपरून् सरकालाई वाह ! भन्न पाइयोस् । तत्काल यथा सम्भव डिजिटल निगरानी र अनलाइन सेवा मार्फत् काउन्टर घुस र बिचौलिया मार्फत् हुने सेवालाई प्रत्यक्ष बनाउन सके नागरिकले अलिकति आशा गर्ने छन् ।
स्वार्थ र अवसरवादको खोल ओढ्ने पञ्चतन्त्रको छट्टु स्याल तुल्य प्रशासनिक वृत्त र देशी विदेशी गिरोहको चक्रव्युहमा सरकार फँस्यो भने जसरी हिरो भएको थियो त्यसरी जिरो हुने छ । छ महिनाभित्र सुशासनलाई बाधा पुर्याउने कानुन पहिचान गरेर नीतिगत भ्रष्टाचार रोक्ने विधेयक तयारीमा जुट्दै एक वर्षभित्रमा सरकाले देखाउने कार्य क्षमता र नागरिकले अनुभूति गर्न सक्ने परिणाम र गतिशीलता देख्न पाइयोस् ।

अन्त्यमा , बहुमत नै असम्भव भनिएको निर्वाचन प्रणालीबाट एउटै दलले दुई तिहाइको सरकार बनाउन सक्नेगरी जनमत किन प्राप्त भयो भन्ने कुरालाई हृदयङ्गम गर्दै विधिको शासनका लागि आगामी सरकार मनसा वाचा कर्मण तत्पर रहनुपर्छ । देशको माटो र नागरिकको भावनालाई हृदयमा राखेर सिंहदरबार अघि बढ्नुपर्छ । राजकीय होटलमा विदेशी मदिराले मस्त भएर होइन गुन्द्रुक र अरिकन्चनको तातो रस खाँदै तराईदेखि हिमालसम्मकम सीमान्त नागरिकले देख्ने ठाउँमा बसेर नव निर्माणको आधार र आकार बनाउन सक्नुपर्छ । अन्यथा यो परिणामको कुनै अर्थ रहने छैन । नेतृत्वले पुराना दल विस्थापनको कारणलाई हमेसा हेक्का राखेर मिनेट मिनेटको उपयोग गर्नुपर्छ ।


