Aamsanchar

२४७ केजी गाँजा बरामद, एक पक्राउ, अर्का फरार

Author Image
बिहिवार, फागुन २८, २०८२

सुनसरी – सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। एकजना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन्। बुधबार राति सुनसरीको हरिनगरा गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा गौतमपुरबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीलाई प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले रोक्न खोज्दा चालकले सवारी नरोकी भगाएका थिए।

शंका लागेपछि इलाका प्रहरी कार्यालय हरिनगर, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीलाई पछ्याएको थियो। पछ्याउने क्रममा हरिनगरा–३ स्थित वडा कार्यालय नजिक सिटी सफारी छाडेर चालक फरार भएका थिए।

प्रहरीले सवारीभित्र जाँच गर्दा रातो त्रिपालले छोपेर राखिएको प्लास्टिकका ८ वटा बोरामा लागूऔषध गाँजा २१७ केजी फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले बताए । उक्त गाँजा र सवारी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ भने फरार चालकको खोजी भइरहेको उनले बताए ।

 

बुधबार नै सुनसरीको धरान उपमहानगरपालिका–१३ फुस्रेबाट पनि प्रहरीले ३० केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय र्क इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले संखुवासभाको सिलिचोङ गाउँपालिका–४ बस्ने २० वर्षीय सन्दिप राईलाई चेकजाँचका क्रममा पक्राउ गरेको छ ।

उनको साथबाट झोलाभित्र राखिएको अवस्थामा ३० केजी गाँजा बरामद गरेको एसपी थेबेले बताए । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर