Aamsanchar

रास्वपाले आज र भोलि सांसदलाई प्रशिक्षण दिँदै

Author Image
मङ्गलवार, चैत ३, २०८२

काठमाडौ‌-  सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ।

दुई दिने कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसदहरू सहभागी हुने बताइएको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको रास्वपाले ललितपुरको होटल रोयल टुलिपमा सांसदहरूका लागि दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम मंगलबार र बुधबार हुँदै छ ।

रास्वपा प्रशिक्षण विभाग प्रमुख तथा सहमहामन्त्री विपिन आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका नीति र सांसदका रूपमा गर्नुपर्ने कामबारे नवनिर्वाचित सांसदहरूलाई जानकारी गराइनेछ।

खासगरी पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि प्रशिक्षणको कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

रास्वपा कानुन तथा न्याय विभाग प्रमुख तथा सांसद सोबिता गौतमले पार्टीका सांसदहरूलाई कानुन निर्माण प्रक्रियादेखि लिएर संसदीय गतिविधिबारे प्रशिक्षण दिन अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी दिइन्।

उनले कानुन निर्माणका क्रममा पार्टीका सांसदहरूबीच समान बुझाइ रहोस् भन्नका लागि यस्ता कार्यक्रमको आवश्यकता महसुस गरिएको बताइन्।

उद्घाटन कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छ। अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ। देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ।

अभिमुखीकरणको पहिलो दिन नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, कानुन निर्माण र संवैधानिक जिम्मेवारीबारे प्रशिक्षण दिने कार्यतालिका रहेको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए।

दोस्रो दिनमा योजना र बजेट निर्माण, सुशासन र जिम्मेवारीपूर्ण राजनीतिक संस्कार विकासका सम्बन्धमा प्रशिक्षणको कार्यक्रम रहेको उनले बताए।

सांसदहरूलाई प्रशिक्षण दिनका लागि रास्वपाले संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद्, अर्थविद्हरूलाई आमन्त्रण गरेको छ।

पहिलो दिनको कार्यक्रम पार्टी वरिष्ठ नेता तथा उपसभापतिले उद्घाटन गर्नेछन् भने समापन समारोहलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

अभिमुखीकरण कार्यक्रममा प्रत्यक्षबाट निर्वाचित १२५ र समानुपातिकबाट निर्वाचित ५७ गरी १ सय ८२ सांसदलाई सहभागी गराइने रास्वपाले जनाएको छ।

रास्वपाले अभिमुखीकरण कार्यक्रमका लागि तयार पारेका पहिलो दिनको सुरुवात बिहान १० बजेपछि सुरु हुने उल्लेख छ।

अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई मोबाइलको प्रयोग गर्न र तस्बिर खिच्न भने प्रतिबन्ध लगाइएको छ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले सोमबार एक निर्देशन जारी गर्दै सांसदहरूले अभिमुखीकरण अवधिभरि के गर्ने, के नगर्ने भन्नेबारे उल्लेख गरेका छन्। ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ। कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ। परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण गर्न निषेध गरिएको छ,’ बुर्लाकोटीले जारी गरेको पत्रमा भनिएको छ, ‘सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ।’

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर