काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गरेको छ । परिषद्ले दिएको निर्देशन पटक–पटक अवज्ञा गरेपछि खेलकुद विकास नियमावली २०७७ अनुसार कारबाही गरिएको हो ।

राखेपले नियमावलीको दफा २९ (२०) टेकेर एन्फामाथि कारबाही गरेको जनाएको छ । उक्त प्रावधानमा परिषद्को निर्देशन नमानेमा सम्बन्धित संघलाई बढीमा तीन महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था छ । यससँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा औपचारिक रूपमा निलम्बनमा परेको छ ।

एन्फा नेतृत्वले कार्यकाल सकिनु अघि नै विधानमा व्यवस्था नभएको ‘अर्ली इलेक्सन’ गराउन खोजेपछि विवाद चर्किएको थियो । राखेपले स्वीकृतिबिना निर्वाचन नगर्न पटक–पटक पत्राचार गरे पनि एन्फाले त्यसलाई बेवास्ता गर्दै चैत १३ गते निर्वाचन गर्ने तयारी अघि बढाएको थियो ।
यसैक्रममा राखेपले मंगलबार २४ घण्टे स्पष्टीकरण सोध्दै कारबाही किन नगर्ने भनेर अल्टिमेटम दिएको थियो । एन्फाले निर्वाचन नरोकिने जवाफ दिएपछि परिषद्ले अन्ततः निलम्बनको निर्णय गरेको हो ।

राखेपको यो निर्णयसँगै नेपाली फुटबल प्रशासनमा नयाँ अन्योल सिर्जना भएको छ ।


