

काठमाडौं – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदलाई आउँदो जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको छ । सचिवालयले सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १ को कोठा नं. २०७) मा कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन भन्दै सूचना प्रकाशन गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा(१)र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा(१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकायरअधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सोहीबमोजिम सिलबन्दी खाममा विवरण बुझाउन सूचना जारी गरिएको हो ।
गएको फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । निर्वाचित सांसदले यही चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।



