Aamsanchar

आजै राति इरानलाई समाप्त पार्ने ट्रम्पको चेतावनी

Author Image
मङ्गलवार, चैत २४, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार इरानलाई एकै रातमा ‘समाप्त पार्न’ सकिने र त्यो रात मंगलवार हुनसक्ने बताएका छन्। ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि तोकेको समयसीमा मंगलवार राति समाप्त हुँदैछ।

सोही क्रममा उनले मध्यस्थकर्ताहरूमार्फत इरानी पक्षसँग भइरहेको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दाबी समेत गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘सम्पूर्ण देशलाई एकै रातमा सिध्याउन सकिन्छ र त्यो रात भोलि रात हुनसक्छ।’

उनले इरानसँगको युद्ध कम गर्ने वा बढाउने भन्नेकुरा इरानको कदममा भर पर्ने बताए। ट्रम्पले आफ्नो प्रशासनसँग मंगलबार मध्यरातसम्म इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पार्ने योजना रहेको खुलासा गरे। राष्ट्रपतिले मंगलवार पूर्वी समय अनुसार राति ८ बजेको समयसीमा अन्तिम भएको बताए। यद्यपि उनले विगतमा यस्ता समयसीमाहरू बारम्बार परिवर्तन गर्दै आएका छन्।

यसअघि ट्रम्पले इरानको नागरिक पूर्वाधारमा हुने अमेरिकी हवाई आक्रमणले युद्ध अपराधको रूप लिनसक्ने विषयमा आफू ‘चिन्तित नरहेको’ बताएका थिए। उनले होर्मुज जलडमरूमध्यबाट गुज्रिने जहाजहरूमा अमेरिकाले शुल्क (टोल)लिनुपर्ने र तेलको स्वतन्त्र आवागमन सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए।

उनले इरानको तेल नियन्त्रणमा लिन सकिने संकेत गर्दै अमेरिकी जनता भने आफ्ना सेना घर फर्केको हेर्न चाहने उल्लेख गरे।

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धविरामले विपक्षीहरूलाई पुनर्गठित हुन र थप अपराध गर्न समय मात्र दिने बताएका छन्। इरानी समाचार एजेन्सी आईआरएनएकाअनुसार तेहरानले अमेरिकाको १५ बुँदे प्रस्तावलाई अस्वीकार गर्दै युद्धको स्थायी अन्त्यका लागि आफ्ना शर्तहरूसहित पाकिस्तानमार्फत जवाफ पठाएको छ।

ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध जितिसकेको दाबी गरे पनि धेरै अमेरिकी विशेषज्ञहरू भने यसमा असहमत देखिन्छन्।

Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर