Aamsanchar

‘डेटिङ’मा बसेक एक जोडीलाई बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु

Author Image
बिहिवार, वैशाख ३, २०८३

बुटवल –  प्युठानमा ‘डेटिङ’मा बसेक एक जोडीलाई बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु भएको छ ।

प्युठानको गौमुखी गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा प्रेमीप्रेमिका डेटिङ बसिरहेको अवस्थामा सिकार गर्न गएका व्यक्तिले गोली प्रहार गर्दा युवकको मृत्यु भएको हो । युवती घाइते भएकी छन् ।

चैत २९ गते साँझ, जंगली जनावरको खोजीमा जंगल पसेका चार युवाको समूहले ‘बँदेल देखियो’ भनेर गोली चलाउँदा बसिरहेका युवायुवतीलाई लागेको हो ।

गोली लागेर नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियार ढलेका थिए । उनीसँगै रहेकी १८ वर्षीया किशोरी पनि घाइते भइन् ।

घटनापछि तत्कालै अस्पताल पुर्‍याइए पनि सुशीललाई बचाउँन नसकिएको प्रहरीले जनाएको छ ।

चैत ३० गते उनले उपचारकै क्रममा मृत्यु भएको हो । घाइते किशोरी भने उपचारपछि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी नरहरी अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित चारजना शिकार खेल्न गएका थिए । टाढाबाट जनावर ठानेर गोली चलाउँदा यस्तो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनापछि संलग्न सबैलाई पक्राउ गरिएको छ । उनीहरूबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको छ । अहिले उनीहरूमाथि ज्यान र हातहतियारसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको डीएसपी अर्यालले जानकारी दिए ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर